अप्रत्याशित बग्ने खहरे खोलाको कुनै किनारा हुदैन ,अस्थिर र चन्चल मनका रहरको कुनै सीमाना हुदैन ,अनवरत यात्रा रहेछ जिन्दगी पनि, यसको आफ्नो कुनै निश्चित ठाउँ र ठेगाना हुदैन।


बर्दियाको लोकतान्त्रिक आन्दोलनका एक अविस्मरणीय पात्र स्वर्गीय कृष्णप्रसाद अधिकारीको आज मधुबन नपा स्थित कुशुम्बा घाटमा दाहसंस्कार गरियो। यही कात्तिक ३० गते गुलरियामा सडक दुर्घटनामा परी उहाँको दु:खद निधन भएको थियो।

सम्वत २००७ साल कात्तिक २५ गते पिता शङ्करप्रसाद उपाध्याय र माता सन्तु अधिकारीको कोखबाट अन्नपूर्ण गापा १ अधिकारी डाडा कास्कीमा जन्मनुभएका उहाँ २०२९ सालमा बर्दियामा बसाइँसराइ गरेर आउनुभयो ।हाल उहाँ गुलरिया नपा २ खैरापुर स्थित हनुमान टोलमा बसोबास गरिरहनु भएको थियो ।उहाँले आफ्ना जीवनका सुन्दर समयहरु सामाजिक ,राजनैतिक काम गरेर बिताउनु भयो।अवसर र लाभको लागि हरेक प्रपन्च गर्न तयार हुने पात्र र प्रवृतिको हुलमा रहेर पनि उहाँ बेदाग कर्मयोगी हुनुहुन्थ्यो ।

राजनैतिक रूपमा उहाँ नेपाली काङ्ग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।असलमा उहाँ सच्चा लोकतान्त्रिक आन्दोलनमा समर्पित कार्यकर्ता हुनुहुन्थ्यो ।आज पार्टीहरुमा निष्ठा र आदर्शको खडेरी छ।पुराना नेता कार्यकर्ताहरु किनारामा छन् ।सर्वत्र आवेग,कुण्ठा र निराशाका स्वरहरु मात्र मुखरित देखिन्छन् ।उहाँका सहकर्मीहरु भन्छन् ,उहाँमा कुनै कुण्ठा थिएन । अनवरत कर्मशीलता उहाँको विशेषता थियोे ।हिजो पन्चायत कालमा भारतबाट प्रतिबन्धित नेपाली काङ्ग्रेसको मुखपत्र राष्ट्र पुकार ल्याएर नेता,कार्यकर्ताको घरमा पुर्याउने र लोकतान्त्रिक चेत निर्माण गर्न अहोरात्र खटिने उहाँको योगदान अविस्मरणीय छ।

बर्दिया विविधताले भरिएको ठाउँ हो।उहाँ जून ठाउँमा बस्नु हुन्छ ,त्यो मधेसी बहुल क्षेत्र हो। त्यो ठाउँमा सामाजिक सद्भाव निर्माण गर्न उहाँको उल्लेखनीय भूमिका थियो।जात , समुदायका आधारमा मानिसहरुमा विभेद नगर्ने उच्च लोकतान्त्रिक चेतना उहाँको व्यवहारमा प्रष्ट झल्किन्थ्यो।
उहाँको निधनबाट अधिकारी परिवार शोकाकुल छ, परिवारजनमा पर्न गएको पीडा अत्यन्त गहिरो छ।साथसाथै यो दु:खद घटनाले बर्दियाको लोकतान्त्रिक आन्दोलनलाई समेत क्षेति पुर्याएको छ।दुखको यो घडीमा हामी शोक सन्तप्त परिवार जनमा हार्दिक सहानुभूति प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौं ।




