• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

त्रिपालमा सामूहिक भाइटीका

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जाजरकोटको बारेकोट गाउँपालिका–३, बुढागाउँका भूकम्पपीडितले त्रिपालमा सामूहिक भाइटीका लगाएर तिहार मनाए। अघिल्ला वर्षमा भाइटीका आ–आफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि बुढागाउँका ४० घरधुरीले त्रिपालमा सामूहिक भाइटीका लगाएर तिहार मनाएका हुन्।

    वडाध्यक्ष रामबहादुर सिंहका अनुसार बुढागाउँमा बुढा, सिंह, गिरी र शाहीको बसोबास छ। ‘भूकम्पले बुढागाउँमा मानवीय क्षति भएन, घरहरू भने सबै भत्किए,’ उनले भने, ‘४० घरधुरी एकै ठाउँमा बस्नुपर्ने अवस्था आयो। तिहार पनि हामीले सामूहिक रूपमा मनायौं।’

    भूकम्पमा बाँचेको खुशीयालीस्वरूप तिहारलाई त्रिपालमा भए पनि भव्य बनाएको उनले बताए। ‘भूकम्पबाट गाउँका कसैको मृत्यु भएको भए यसरी तिहार मनाइन्नथ्यो,’ उनले भने, ‘भूकम्पमा परी बाँचेको खुशीयालीमा नाचगानसहित भाइटीका र तिहार मनायौं।’

    गाउँमा तिहारको नाचगानका लागि ‘हुफर’ ल्याइएको थियो। त्यसमाथि राष्ट्रिय झण्डा राखिएको थियो। बारीभरि त्रिपाल बिछ्याएर एकअर्कालाई टीका लगाइयो। ‘सेतो रङ चामल पिसेर बनायौं, अरू बजारबाट मैले ल्याएर आएको थिएँ,’ वडाध्यक्ष सिंहले भने, ‘बाँचेकोमा टीकामाला र नाचगानसहित खुशीयाली मनायौं।’

    भूकम्पपछि जाजरकोटको भेरी नगरपालिका–१, रिम्नाका दीपक परियारको परिवार पनि घरबाट बारीमा पुग्यो। नलगाड नगरपालिका–७, दल्लीमा बिवाह गरेकी दिपककी बहिनी शितलको परिवार पनि भूकम्पयता त्रिपालमुनि छ। भूकम्पको पीडा दाजुबहिनीको उस्तै भए पनि निधारमा सप्तरंगी टीका थाप्न उनी रिम्नाबाट दल्ली पुगे। बहिनीको हातबाट त्रिपालमा सप्तरंगी टीका लगाएर उनी फर्किए।

    भूकम्पपछि उनी बहिनीको घर जान पाएका थिएनन्। भाइटीकाले बहिनीसँग भेट्ने र दुःखसुख साट्ने अवसर दियो। ‘भूकम्पले हामी पनि घरबारबिहीन भयौं, बहिनीको अवस्था पनि त्यस्तै थियो, फोनमा कुरा भए पनि बहिनीको घरको अवस्था देख्न पाएको थिइनँ,’ उनले भने, ‘भाइटीकाले बहिनीको घरसम्म डोर्‍याएर ल्यायो, टीका लगायौं, दुःखसुखका कुरा गरेर छुट्टियौं।’

    भूकम्पको केन्द्रविन्दु बारेकोट–१, रामीडाँडाकी अनिता बुढाका पाँच दिदीबहिनी छन्। उनीहरूका १३ वर्षे एक भाइ छन्। पाँच दिदीबहिनीमध्ये चारजना सुर्खेतमा बसेर अध्ययन गर्छन्।

    दसैं–तिहार बिदा हुनेबित्तिकै सबै घर पुग्छन्। यो वर्ष पनि उनीहरू स्कुल–कलेज बिदा भएपछि घर पुगे। दसैं उल्लासमा मनाएका उनीहरूले तिहार भने त्रिपालमुनि मनाए।

    विगतमा अनितासहित बहिनीहरू टाढाटाढा पुगेर देउसी खेल्थे। देउसी खेल्दा केही नगद, चामल र दाल जम्मा हुन्थ्यो। भाइटीकाको भोलिपल्ट वनभोज हुन्थ्यो। त्यसपछि सबै अध्ययनका लागि सुर्खेत झर्थे। ‘अघिल्ला वर्षमा रातभर देउसी खेल्थ्यौं, भाइटीकाको भोलिपल्ट वनभोज खान जान्थ्यौं, अनिताले भनिन्, ‘यसपटक भूकम्पका कारण देउसी कसैले पनि खेलेनन्।’

    चिसो सिरेटोमा खुला आकाशमुनि पालको भरमा दैनिकी गुजारिरहेका भूकम्पपीडितले पीडा दबाएरै तिहार मनाए। भूकम्पले मानवीय र भौतिक क्षति भएकाले जाजरकोट र रुकुम पश्चिमका बासिन्दाले अघिल्ला वर्षजस्तै हर्षोल्लासका साथ दीपावली मनाउन नपाए पनि अधिकांशले भाइटीका लगाए। भूकम्पबाट प्रियजन गुमाएका परिवार र आफन्तमा भने तिहारको उल्लास थिएन।

    घरको आँगनमा जस्तो त्रिपालमुनि तिहार मनाउँदा रमाइलो त कहाँ हुन्थ्यो र। तर पनि कुसे गाउँपालिकाकी खम्बी पुनले त्रिपालमुनि चाँदीको पालामा बत्ती बालिन्। भाइटीकाको बिहान उनको पालमा दुई भाइ आइपुगे। उनले भाइहरूलाई त्रिपालमुनि टीका लगाइदिइन्, त्यहीं बनाएको सेलरोटी खान दिइन्। ‘अघिल्ला वर्षमा टीकाको अघिल्लो दिनमै भाइ आउँथे, नाचगान र खानपान हुन्थ्यो, भोलिपल्ट टीका लगाएर फर्किन्थे,’ उनले भनिन्, ‘यो वर्ष भूकम्पले सास्ती दियो।’

    ‘शोकमै बित्यो तिहार’

    जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवार पनि भूकम्पका कारण घरबाट विस्थापित भयो। विस्थापित जीवन बिताइरहेका उनलाई भाइटीका (तिहार) को रौनकले खासै छोएन। बिहान–साँझ कसरी छाक टार्ने र सिरेटो कसरी छल्ने भन्ने चिन्ताले सताइरहेका बेला तिहार मनाउने कल्पनासमेत गर्न नसकेको उनले सुनाए। रावत गाउँमन सबैको अवस्था भूकम्पपछि दयनीय बनेको धनबहादुरले बताए। ‘गाउँ नै विपद्मा परेका बेला हामीले तिहार मनाउन सकेनौं, शोकमै बित्यो हाम्रो तिहार,’ उनले भने।

    जाजरकोट, रिम्नाकी दिलमाया रानालाई पनि यसपटकको तिहार खल्लो भयो। भूकम्पका कारण गाउँ शोकमा डुबेका कारण तिहार मनाउन नसकेको उनले बताइन्। ‘कसरी बाँच्ने, के खाने भन्ने बेलामा तिहार मनाउने कुरा सोचेनौं,’ उनले भनिन्।

    भूकम्पले घर भत्किँदा भेरी नगरपालिका वडा नम्बर १ मा ३१ जनाको मृत्यु भयो। सोही वडामा पर्ने उनको गाउँ रिम्नामा मात्रै ८ जनाको मृत्यु भयो। एकातिर छिमेकी, आफन्त गुमाउँदाको पीडा र अर्कोतिर विस्थापित जीवन बिताउनुपर्दा भूकम्पपीडितले तिहार मनाउन सकेनन्। दिलमायाले भनिन्, ‘हामी अहिले शोकमा छौं, तिहार मनाउने अवस्था नै भएन।’

    घर भत्किएर आफूले विस्थापित जीवन बिताइरहेका बेला माइतीघर पनि भूकम्पबाट अछुतो नरहेको उनले सुनाइन्। ‘माइततिर दाजुको घर पनि भत्किएको छ, दाजुको परिवार पनि विस्थापित भएको छ,’ उनले भनिन्, ‘भूकम्पले सबैलाई पीडा दिएको छ।’

    रिम्नाकै चित्रकला रानाले पनि भूकम्पको पीडा खेपिरहेकी छन्। गाउँको खुला चउरमा पाल टाँगेर उनको ८ जनाको संयुक्त परिवार बसिरहेको छ। भूकम्पमा उनले दिदी र दिदीकी छोरी गुमाइन्। ‘बिहान खाएपछि बेलुका के खाने भन्ने चिन्ता लागेका बेला तिहार मनाउने कुरा हामीले सोच्न सकेनौं,’ उनले भनिन्, ‘गाउँ नै शोकमा छ, गाउँ ध्वस्त भएका बेला तिहार कसरी मनाउनु।’

    भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका अधिकांश पुराना घरमा क्षति पुगेको छ। पिलरले बनेका केही घर पनि चर्केका छन्। जाजरकोट, भेरी नगरपालिका–१ का एक हजार ४० घरमध्ये एक हजार १० पूर्ण रूपले क्षति भएको वडा कार्यालयले जनाएको छ।

    उक्त वडाको रिम्ना गाउँका मात्रै २ सय ४० परिवार विस्थापित भएका छन्। वडाअध्यक्ष दिपक रानाले अझै पनि कतिपय पीडित खुला आकाशमुनि बस्नुपर्ने बाध्यता भएको बताए। घर र गोठमा राखिएको अन्नपात, लत्ताकपडा सबै पुरिएको उनले सुनाए।

    कात्तिक १७ गते गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी १५४ जनाको ज्यान गयो। जाजरकोट, रुकुम पश्चि, सल्यानलगायत जिल्लाका करिब ६५ हजार घरधुरी विस्थापित भए। जाजरकोटका मात्रै ३४ हजार ५ सय १ घरधुरी प्रभावित भएका छन्। भेरी नगरपालिकाका ८ हजार ३ सय ५१ घरधुरीमा क्षति (आंशिक र पूर्ण) भएको तथ्यांक छ। विस्थापित सबैको बास पालमुनि छ। साभार नागरिक

    Post Views: 242
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार ०८:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.