• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोहलपुरको अत्याधुनिक बसपार्क : नगरले गौरव गर्ने योजना

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २६, आईतवार १२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,कात्तिक २६ / बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी व्यहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन् । अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी । यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्य पूर्व–पश्चिम राजमार्गको छेउमै देखिने सेतो भवन र आसपासमा बनेका चिटिक्क परेका अन्य संरचनाले एकपटक यात्रीको ध्यान खिच्ने गरेको बताउँछन् ।

    कोहलपुर चौराहमा फलफूलको व्यापार गर्दै आएका खड्कबहादुर थापा नयाँ बसबिसौनी आकर्षणको केन्द्र बनेको बताउँदै भन्छन्, ‘पहिला–पहिला त यहाँ आउने हरेक मान्छेले के बन्न लागेको भनेर सोधेर हैरान पार्थे, आजभोलि धेरै उतै जान्छन्, फोटो खिचाउँछन्, फलफूल किन्न आउने मान्छेको नजर त्यता जान्छ कति राम्रो बसपार्क भन्छन् ।’

    पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौराह नजिकै पाँच बिघा १६ कठ्ठा जमिनमा अत्याधुनिक बसपार्क निर्माण भएको छ । यो बसपार्क नेपालभरिकै आधुनिक हुनुका साथै यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारका सुविधा उपलब्ध रहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास प्रमुख इञ्जिनियर बालकृष्ण महतारा बताउँछन् ।

    इञ्जिनियर महताराका अनुसार बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ । बाहिर निस्कन बेग्लै ढोका छन् । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटर राखिएका छन् । उत्तरतर्फ भण्डारणसहितका २९ वटा ठूला सटर छन् । दक्षिणतर्फ भण्डारणबिनाका ३० वटा सटर छन् । बसपार्कभित्रै निर्माण गरिएका ५९ वटै सटरमा व्यवसाय सञ्चालन भइसकेको छ । व्यापारिक भवनसँगै जोडिएका १० कोठामा २० वटा टिकट काउन्टर छन् । सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ ।

    बसपार्कभित्र विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु एक करोडको लागतमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चार्जिङ स्टेशन पनि बनाएको छ । यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ । टर्मिनल भवनमा यात्रु प्रतिक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ । बसपार्कका शौचालय सुविधायुक्त छन् । बसपार्कभित्र जहाँसुकै धूमपान गर्न पाइने छैन । निर्धारित ठाउँमात्र त्यसो गर्न पाइन्छ । यहाँ तीन थान हाइमास्ट लाइट राखिएका कारण राति पनि झलमल्ल हुने गरेको छ ।

    बसपार्कमा एक पटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ । भदौ १ गतेदेखि यो बसपार्कबाट लामो र छोटो दूरीका बस सञ्चालनमा भएका छन् । टिकट काट्ने र यात्रुलाई सहजताका लागि सबै सुविधाको व्यवस्थापन गरेर बसपार्कभित्र ठूला तथा साना बस छुट्ने र पार्किङ गर्ने स्थान फरक–फरक व्यवस्था गरिएको छ ।

    बसपार्क व्यवस्थापनका लागि वार्षिक रु ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी बागीश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको छ । नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क रु ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु १८ करोड ३७ लाख २४ हजार छ सय २१ ऋण लिइएको छ भने नगरपालिकाले रु १२ करोड २४ लाख ८३ हजार ८० लगानी गरेको छ ।

    कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको र ४० प्रतिशत कोहलपुर नगरपालिकाले गरेको बताए । उनले नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको जनाउँदै बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स, तीनवटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै विद्युतीय चार्जिङ स्टेशनको व्यवस्था पनि मिलाइएको बताए ।

    कोहलपुरको गौरव गर्ने योजनाको रूपमा रहेको लामो दूरीमा चल्ने बस राख्न मिल्ने अत्याधुनिक बसपार्क सञ्चालनमा आएपछि कोहलपुरको स्वरुपमै परिवर्तन आएको नगरपालिकाका पूर्वप्रमुख लुटबहादुर रावतले बताए ।साभार अनलाइनखबर

     

    Post Views: 267
    प्रकाशित मिति: २०८० कार्तिक २६, आईतवार १२:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.