• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

व्यापारिक उदारताको विरोधाभाष

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २२, बुधबार ०६:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व व्यवस्थामा कहिलेकाहीँ रोचक विरोधाभाषहरू देखिने गर्छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा उदारताको वकालत गर्ने देशहरूले जब जब आफ्नो आर्थिक शक्ति क्षीण बन्दै गएको अनुभव गर्छन्, उदारताको सीमा तोड्न उनीहरू सबभन्दा बढी उद्यत हुने गर्छन् । उन्नाइसौँ शताब्दीको बेलायतदेखि आजको अमेरिकासम्म यो प्रवृत्तिबाट अछूतो छैनन् । विश्व बजार आफ्नो बनाउन उनीहरू उदारताको सहायता लिन्छन् भने आफ्नो आर्थिक क्षमतालाई उदारताले कमजोर बनाएको अवस्थामा उनीहरू सहजै आर्थिक राष्ट्रवादको पक्षपाती बनिदिन्छन् । अर्थात् मुखले उदारवादको कुरा गर्न नछोडे पनि व्यवहारमा उनीहरूले आर्थिक राष्ट्रवादी नीति अपनाउँछन् ।

    बेलायतले आफू आर्थिकरूपमा सबल बनिसकेपछि जब उसलाई विश्व बजारको खाँचो पर्‍यो, उसले आर्थिक उदारवादको प्रवद्र्धनमा विशेष जोड दिन थाल्यो । उसले व्यापारिक संरक्षणवादको विरोध गर्‍यो, त्यतिबेला जब उसलाई आफ्नो पुँजी र उत्पादन विश्व बजारमा पुर्‍याउने खाँचो पर्‍यो। बेलायतको यही नक्कली उदारवादको जर्मनीका राजनीतिक अर्थशास्त्रीहरूले विरोध गरे । उनीहरूले जर्मनी राष्ट्रवादको वकालत गरे ।

    आजको विश्व अर्थराजनीति नियाल्दा फेरि पनि उस्तै छनक देखिँदैछ । दोस्रो विश्वयुद्धपश्चात विश्व व्यवस्थाको केन्द्रमा उभिन आएको अमेरिका आज आफ्नो क्षीण आर्थिक र राजनीतिक अवस्थासँगै उद्योग कलकारखानाका संरक्षणका लागि व्यापारिक संरक्षणवादको पक्षपोषण गर्न थालेको छ । समयको विरोधाभाष आज उदारवादको पक्षपाती अमेरिकालगायत पश्चिमा देशहरू आर्थिक राष्ट्रवादी नीति अभ्यास गरिरहेका छन् भने कुनै बेला बन्द समाज भनिएको चीन खुलापन र आर्थिक उदारतामा खुलेर लागेको छ ।

    अक्टोबरको तेस्रो साता सम्पन्न बेल्ट एन्ड रोड फोरमको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले औद्योगिक उत्पादनका लागि चिनियाँ बजारको ढोका खोल्ने घोषणा गरेसँगै सन् १९७८ मा सुरु भएको चीनको खुलापन र सुधारको यात्रा अझ निरन्तर अघि बढ्ने देखिएको छ । नोभेम्बर ५ मा चीनको व्यापारिक सहर सांघाईमा सुुरु भएको छैटौँ चीन अन्तर्राष्ट्रिय आयात व्यापार मेला (सिआइआइई) चीनको खुलापन र सुधारको यात्रा मुखौटो मात्र होइन, बरु व्यावहारिक प्रयत्न हो भन्ने उचित दसी बनेको छ ।

    संसारकै पहिलो आयात व्यापार मेला सिआइआइई सैद्धान्तिकरूपमा उदारताको पक्षपाती तर व्यापारमा अनुदारवादी पश्चिमा देशहरूका लागि चुनौति बनेको छ । आफ्ना राष्ट्रिय उद्योग जोगाउन व्यापारिक संरक्षणवादको पक्षपोषण गरिरहेका ती देशका लागि आफ्नो बजार अझ खुला गर्ने चीनको घोषणा नैतिक चुनौती बनेको छ ।

    सन् १९७०–८० मा जापानको आर्थिक उदयले अमेरिकालाई आफ्नो बजार र उद्योग जोगाउन हम्मेहम्मे पर्दा आफैँले बनाएको ग्याट सम्झौता च्यातचुत पारेर ऊ व्यापारिक संरक्षणवादको बाटो हिँडेको थियो । आज चीनको उदयसँगै पश्चिमा देशहरूसामु अर्को चुनौती तेर्र्सिएको छ । विकसित र विश्वशक्ति भनिएका देशले व्यापारिक संरक्षणवादको नीति अपनाउँदा विश्व अर्थतन्त्र र भूमण्डलीकरणमाथि मात्र प्रश्न उठेको होइन, बरु संसारको राजनीतिक र सुरक्षाको अवस्थामा समेत जटिलता निम्त्याएको छ ।

    पश्चिमा विश्वको सिद्धान्तविपरीतको संरक्षणवाद निस्तेज पार्न कसै न कसैले सकारात्मक जवाफ दिनु नै पथ्र्यो । चीन आजको संसारकै उदयीमान शक्तिको हैसियतमा आफूलाई चाहिँदा उदारवाद नभए संरक्षणवादको दोहोरो नीतिको विपक्षमा खरो उभिएको छ । फलतः आज बन्द भनिएको चीन खुला बन्दैछ भने खुला भनिएका देशहरू आफ्ना ढोका बन्द गर्नेतिर लागेका छन् ।

    कोभिड महामारीले पिरोलिएको चीन कोभिडअघिको अवस्थामा कहिल्यै फर्किन नसक्ने अनुमान गुप्त मात्र थिएन । धेरै देश र शक्तिका लागि त्यो भित्री चाहनासमेत थियो । तर चीन आफू पुनः कोभिडअघिको अवस्थामा फर्किसकेको, अझ त्योभन्दा अघि बढिरहेको सन्देश संसारसामु दिन उत्कट देखिएको छ । महिना दिन पनि नबिराइ चीनभरि भइरहेका विभिन्न अन्तर्राष्ट्रिय समारोहमार्फत चीन यही सन्देश दिन चाहन्छ । सेप्टेम्बरमा हानचाउ सहरमा भएको एसियाली खेलकुदपछि तेस्रो बेल्ट एन्ड रोड फोरम हुँदै अहिले छैटौँ सिआइआइइलाई यसैको सिलसिला मान्न सकिन्छ ।

    सन् २०१८ मा सुरु भएको सिआइआइई कोभिड महामारीका कारण केही वर्ष हुन सकेन । चीनले यो आर्थिक मञ्चलाई विश्व व्यापारमा आफ्नो बढ्दो आत्मविश्वास प्रदर्शन गर्ने, खुलापन र सुधारप्रति आफ्नो लगातारको प्रतिबद्धता देखाउने, विश्व बजारलाई चीनको बजार चिनाउने अवसरका रूपमा उपयोग गर्दै आएको छ । यो वर्ष सिआइआइईमा सहभागी देश, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनको संख्या १५४ र प्रदर्शनकर्ताहरूको संख्या ३४ सय नाघेको छ । यो महामारीअघिकै संख्याको हाराहारीमा पुगेको छ । यस पटकको प्रदर्शनमा अमेरिकाले औपचारिकरूपमा पहिलो पटक सहभागिता जनाएको छ । त्यस्तै चीनसँग कूटनीतिकरूपमा तिक्त सम्बन्ध भएका देशहरू जापान र अस्ट्रेलियाले यसपालि विशेष सहभागिता जनाएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले सिआइआइइकै मेसोमा चीनको भ्रमण गरेका छन् । यसले विगत केही वर्षदेखि अस्ट्रेलिया र चीनबीचको नमीठो सम्बन्धमा सुधारको अपेक्षा गरिएको छ ।

    संसारभरका व्यापार मेलाहरू धनीका लागि फलिफाप, गरिबका लागि अभिशाप हुने गरेको मान्यतालाई तोड्दै सिआइआइईले अल्पविकसित र अविकसित देशहरूलाई निःशुल्क स्टल दिएको छ । व्यापार मेलाको नाममा धनी देशलाई नै पोस्ने परम्परालाई चिनियाँ प्रदर्शनीले तोडेको छ ।

    विश्व अर्थतन्त्रकै इन्जिन बनेको चीनमा वर्षैभरि अनेकथरी व्यापार प्रदर्शनीहरू भइरहेका हुन्छन् । तथापि, चीनको व्यापार तथा अर्थ मन्त्रालयले आयोजना गर्ने गरेको सिआइआइइ चीन र अन्य देशबीच आपसी आदान–प्रदान र सिक्ने/सिकाउने थलो बनेको छ । संसारभर विभिन्न क्षेत्रमा भइरहेका नवीन उत्पादनको विशिष्ट प्रदर्शनले प्रविधि हस्तान्तरण, अनुसन्धान, बजार विस्तार, दुई तथा बहुपक्षीय व्यापार सम्बन्ध विस्तारका लागि उपयुक्त मञ्च प्रदान गरेको छ ।

    आज चीन मूलतः संसारलाई एकध्रुवीयताबाट बहुधु्रवीयतातिर डोर्‍याउनतिर लागिरहेको छ । व्यापार, राजनीति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्धमा सीमित देशको असीमित पहुँच तोड्दै संसारलाई बहुपक्षीय सहकार्यको थलो बनाउने चिनिया प्रयासको सिलसिला सिआइआइई बनेको छ । यसले तेस्रो विश्वबीच व्यापारिक सहकार्य, प्रविधि हस्तान्तरण, उत्पादन विस्तार आदिमा ठूलो योगदान गर्न सक्छ ।

    अल्पविकसित र कम विकसित देशका लागि व्यापार र आफ्ना राष्ट्रिय उद्योगको संरक्षण प्रारम्भिक आवश्यकता भए पनि विकसित देशको सन्दर्भमा व्यापारिक संरक्षणवादले संसारलाई फेरि पनि सन् १९३० ताकाको राष्ट्रवादतिर डोर्‍याउन सक्छ । कदाचित व्यापार संरक्षणवादको अन्तिम गन्तव्य राष्ट्रवादतिरको यात्रा भए संसारले अर्को ठूलो विनाशको सामना गर्न सक्छ । तसर्थ, विकसित र शक्तिशाली देशले व्यापारिक उदारता र खुलापनको नीति अपनाउन आवश्यक छ । यसले संसारलाई फेरि पनि विनाशको दलदलमा फस्नबाट जोगाउन सक्छ । व्यापारिक अन्तरक्रिया र अन्तरसंवादका निम्ति अन्तर्राष्ट्रिय स्तरमा सिआइआइई जस्ता मञ्च आजको आवश्यकता हो । साभार नागरिक

    Post Views: 209
    प्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार ०६:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.