काठमाडौँ,कात्तिक १९/पर ओभरमा नेपाल ओमानसँग पराजित भएपछि नेपाल आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधि जित्न असफल भएको छ। निर्धारीत २० ओभरमा दुवै टोलीले १८४/ १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो। सुपर ओभरमा नेपाल बलिङ र ब्याटिङ दुवैमा चुकेपछि उपाधि जित्न असफल भएको हो।सुपर ओभरमा ओमानले पहिला ब्याटिङ गर्दै कुनै विकेट नगुमाई २१ रन बनायो। जवाफमा नेपाले १ विकेटको नोक्सानीमा जम्मा १० रन मात्र बनाउन सक्यो र उपाधि चुम्नबाट वञ्चित भयो।

टि२० मा सुपर ओभर खेलको नेपालले यो पहिलो पटक हो । टि२० को स्पेशलिष्टको रुपमा चिनिएका बलर अविनाश बोहराले बलिङमा भेरियसन दिन नसक्दा एउटै खाले बल फालेर तीन छक्का खाँदा नेपालले हार्न पुगेको हो । नेपालले आजको खेलमा विशेष गरेर पहिलो र अन्तिम पावर प्लेमा राम्रो गर्न नसक्दा पनि १८४ रन बनाएर पनि खेल जित्न नसकेको हो।
पहिलो पावर प्लेमा पाँच ओभरमा ५४ रन खानु र पछिल्लो पाँच ओभरमा ४८ रन गरी जम्मा १०२ रन खानुले पनि नेपाल जित्न असफल भएको हो । मिडल ओभरमा राम्रो खेले पनि विकेट लिन नसक्दा ओमानले पावर प्लेमा रन चुड्दा नेपाल दबाबमा परेको हो। ६ देखि १५ ओभरको बिचको १० ओभरमा नेपाले ८२ रन दिएर एक विकेट मात्र लिन सक्यो। यदि नेपालले मिडल ओभरमा विकेट लिन सकेको भए खेल नेपालको पक्षमा हुने थियो। १६ औ ओभरमा अविनाश बोहराले ९ रन दिएर एक विकेट लिए पनि १७ ओभरमा करण केसीले ३ चौका र १ छक्कासंगै १८ खाएर १ विकेट लिए पनि नेपालको पक्षमा खेल आएन।
१८औ ओभरमा अविनाश बोहराले दुर्ई ४ चौकासंगै १२ रन खर्चदा नेपाल फेरी दवाबमा आयो । नेपालले खेल जित्न अन्तिम ओभरमा ८ रनलाई रोक्नु पर्ने भयो। अन्तिम ओभरमा सन्दीप लामिछानेले २ क्याच आउट र एक रन आउट गरेर तीन विकेट लिँदै खेल बराबरीमा ल्याए र हार्न बाट जोगाए पनि सुपर ओभरमा नेपाल चुक्दा उपाधि ओमानलाई सुम्पनु परेको हो। पहिलो पावर प्ले र मिडल ओभरमा गरी ५ विकेट लिन सकेको भए आज नेपालले खेल जित्ने आधार हुने थियो।पहिलो पावर प्लेमा ५४ रन खर्चेर जम्मा १ विकेट मात्र लिन सक्यो। खास गरी नेपालले सुपर ओभरमा धेरै खेल नखेलेको भएकाले पनि अनुभवको कारण आज ओमानसँग हार्न पुगेको हो।
उपाधि जित्न नसके पनि अर्को वर्ष अमेरिका र वेष्टइण्डीजमा हुने आइसिसी टि२० विश्वकपमा छनौट हुनु नेपालको लागि सुखद समाचार हो । भारतीय प्रशिक्षक मोन्टी देसाईले टोली सम्हालेपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाउनु र एसियाकप र एसियन गेममा भारत पाकिस्तान र वेष्टइण्डीज जस्ता टोलीसँग उत्कृष्ट प्रदर्शन गर्नु नेपाली क्रिकेटको सबल पक्ष मान्नु पर्दछ।साभार नागरिकन्युजबाट




