बारा, कात्तिक १५ गते / बाराका प्रमुख जिल्ला अधिकारी नवराज अधिकारीले निजी विद्यालयका सञ्चालकहरूलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । सोमवार कलैया स्थित एक निजी बोडिङ्ग स्कुलका सञ्चालकको हत्या भएको घटनामा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय बारा पुगेका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूलाई विद्यालयमा विद्यार्थीलाई आचरण सिकाउने विद्यालय सञ्चालक, पिसिन्पल तथा शिक्षकहरू आफू सही आचरणमा रहन निर्देशन दिएका हुन् ।

‘विद्यार्थीलाई आचरण सिकाउने मान्छेले आचरण बेकाम गरेकोले रुपेश सरार्फको मृत्यु भएको हो, यो घटना कुनै शैक्षिक संस्था माथिको हमला हो भनेर गलत प्रचारबाजी नगर्नुहोला’ बाराका प्रजिअ अधिकारीले भने ‘भोलि घटना सबै सार्वजनिक भएपछि सायद तपाईहरुले यहाँबाट मुख छोपेर हिँड्नुहोला’
सोमवार दिउँसो कलैया स्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सरार्फको हत्या भएको घटनालाई लिएर निजी बोडिङ्ग स्कुलका सञ्चालकहरूले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै मंगलवार बाराका प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
सरार्फको हत्या घटनापछि विद्यालय सञ्चालकहरूले असुरक्षित महसुस गरिएको भन्दै विरोध स्ववरुप मंगलवार बाराका सबै शैक्षिक संस्थाहरु समेत बन्द गराएका थिए ।
तर, प्रजिअ अधिकारीले भने सरार्फको हत्या विशुद्ध निजी कारणले भएको र घटनामा कुनै आपराधिक गिरोहको संलग्नता नरहेको जनाएका छन् ।
सरार्फको हत्या परस्त्रीसँगको सम्बन्धको कारण भएको र परस्त्रीका आफन्तले यसअघि नै सरार्फलाई पटक पटक मार्ने प्रयास गरेको अनुसन्धानको क्रममा खुलेको प्रजिअ अधिकारीले जनाएका छन् ।
‘सबै ठाउँमा सबै जनताको अगाडी पुलिस बस्न सक्दैन, यसमा प्रशासनले मात्रै ध्यान दिएर हुँदैन हामीले आफ्नो आचरण पनि सुधार गर्नुपर्छ’ उनले भने ‘यो घटना हुनुभन्दा पहिला पनि सिमराको एउटा होटेलमा सरार्फलाई मार्न पटक पटक प्रयास भएको देखिन्छ तर, सम्बन्धित व्यक्तिले प्रहरीलाई भन्नु पर्दैन, सबै आफू गलत गलत काम गर्दै गर्दै जाने, अनि अन्तिममा पुलिस, प्रशासनलाई मात्रै दोष दिएर हुन्छ ?’
ज्ञापन पत्र बुझाउने क्रममा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीले नेपाल–भारत खुला सीमाका कारण सुरक्षा चुनौती बढेकोले सिमा क्षेत्रमा स्थानीय तहको समन्वयमा सिसी क्यामरा जडान र रात्रि व्याक्तीहरु राख्न सुझाव दिएका थिए ।
नेपाल भारत खुला सिमानाका कारण अवैध हतियार ओसारपोसार गर्ने र नेपालतर्फ मानिसको ज्यान लिएर भारततर्फ लुक्ने गरेका घटना बढी हुने गरेको प्रजिअ अधिकारीले बताएका छन् । उनले सरार्फको हत्या घटनामा ९० प्रतिशत अनुसन्धान टुङ्गिएको तर मृतको निजी मोबाइल फोन सेट नभेटिएकोले केही काम बाँकी रहे पनि बुधवार बिहान १० बजेसम्म घटनाबारे सबै सार्वजनिक हुने बताएका छन् । साभार रातोपाटी




