नेपाली समाज अहिले पर्वमय बनेको छ । एकातिर हिन्दू नारीहरु हरितालिका तीजको रमझममा दर खान र नाचगानमा झुमिरहेका छन् भने अर्कातिर थारु संस्कृतिमा उल्लेखनीय स्थान ओगटेको बर्काअटुवारी पर्वको उत्साहले समाजमा उल्लास थपिएको छ । चाड्पर्वहरु निश्चितरूपमा सामाजिक सम्पत्ति हुन् । पौराणिक, ऐतिहासिक तथा सामाजिक जीवनका उल्लेखनीय पक्षहरुलाई समेटेर उत्साहका साथ मनाइने यी पर्वहरुले मानव जीवनलाई उर्जा, उत्साह र प्रेरणा प्रदान गर्दछ्न । सामाजिक सद्भाव अभिवृद्धि गर्ने योगदान पुर्याउछ्न र जीवनलाई गतिशील बनाउछ्न । अटुवारी पर्वले थारु संस्कृति, जीवन शैली, ऐतिहासिक सन्दर्भको उद्घाटन गर्दै समाजमा भाइचारा र सद्भाव स्थापना गर्न सहयोग पुर्याउछ भने हरितालिका तीज पर्वले संस्कृति, गीत सङ्गीतको प्रवद्र्धनका साथै नारी जीवनका विरह वेदना र्विद्रोहलाई उद्घाटन गर्छ । पौराणिक विम्वलाई जीवनमा अनुवाद गर्ने यस पर्वले नारी स्वतन्त्रताको पक्षमा समाजलाई प्रेरित गर्छ र समानताको भाव जागृत गर्न सहयोग पुर्याउछ । यस्ता पर्वहरु हाम्रा मौलिक गौरव हुन् । यिनको मौलिकतालाई बचाउदै र यिनैले स्थापित गर्न खोजेको मूल्यलाई आत्मसात गर्न सकेमा समुन्नत समाज निर्माणमा योगदान पुग्न सक्छ । तर हामीले त्यसो गर्न सकेका छैनौं । चाड पर्वको नाममा अहिले समाजमा धेरै विकृतिहरु बढ्न थालेका छन् । फजुल खर्च, आडम्वर, गहना र आभूषणको प्रदर्शन, अनियंत्रित खानपिन, छाडा र अशोभनीय गीत सङ्गीतको प्रयोग आदिले पवित्र पर्वहरु विकृति उन्मुख बन्न थालेका छन् । सचेत नागरिकहरुले समाजलाई विकृत हुनबाट बचाउन खबरदारी गर्नु पर्छ । हाम्रा संस्कृतिहरुको मौलिकता बचाउन चाडपर्वहरुलाई विकृत हुन दिनुहुदैन ।






