बर्दिया जिल्लाको धेरै जसो भूभाग बन क्षेत्रले ओगटेको छ । जिल्लाको पश्चिमी किनारामा कर्णाली नदीको पश्चिमी तटीय क्षेत्रमा छतिवन सामुदायिक बनको ठूलो बन क्षेत्र र अन्य ससाना सामुदायिक बनहरु रहेका छन् ।बर्दिया राष्ट्रिय निकुञ्ज, शिव सामुदायिक बन, निकुञ्ज सेरोफेरोमा धेरै मध्यवर्ती क्षेत्रका बनहरुका कारण बर्दिया हरियालीले भरिएको जिल्लाका रूपमा परिचित छ । जिल्लाको दक्षिणी भारतीय भूभागमा पनि घना बन क्षेत्र रहेको छ । जिल्लाको सदरमुकाम गुलरियामा समेत उल्लेख्य मात्रामा ब्बन क्षेत्र रहेको छ । हराभरा बन क्षेत्रले भरिएको बर्दिया जिल्ला प्राकृतिक दृष्टिले मनमोहक छ । हरियो बन क्षेत्र, कर्णाली, बबई र मान खोलाको तटीय उर्बरा भूभाग तथा जङ्गलमा उल्लेख्य मात्रामा बढ्दै गरेका बाघ, गैडा, हात्ती, चितुवा, चितल जस्ता बन्यजन्तुको कारण बर्दिया पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यका रूपमा प्रशिद्ध छ ।

बर्दियाको प्राकृतिक सौन्दर्य, यहाँको हराभरा बन क्षेत्र र दुर्लभ बन्यजन्तुहरु आफैमा निश्चितरूपमा अनमोल बरदान हुन् तर साथ साथमा चुनौती पनि प्रशस्त छन् । विशेषगरी बन्यजन्तुको बढ्दो उपस्थितिले मानवीय जीवनलाई चुनौतीपूर्ण बनाएको छ । गाउँबस्तीहरु बाघ र हात्तीका कारण आतङ्कित छन् । जंगली जनावरको आक्रमणमा परेर मानिसले मृत्युवरण गर्नुपर्ने स्थित एकातिर छ भने बर्सेनी ठूलो मात्रामा खेती बाली र अन्य धनमालको नोक्सानी व्यहोर्नुपर्ने वाध्यता अर्कोतिर छ । बर्दियामा मानव बन्यजन्तु द्वन्द्वको अवस्था भयावह बन्दै छ । मानव बन्यजन्तु द्वन्द्वको न्यूनीकरण गरेर मानिसलाई मर्यादित जीवन जिउन र बन्यजन्तुलाई पनि सुरक्षित बाच्न पाउने बाताबरण बनाउन राज्यले गम्भीर गृहकार्य गरेर नीतिनिर्माण गर्नु आवश्यक छ । मानवीय जीवनलाई नजरअन्दाज गरेर गरिने संरक्षण कदापि परिणाममुखी हुन सक्दैन भने संरक्षणको अभावमा पनि मानवीय जीवनलाई सुखमय बनाउन सकिदैन । पर्यावरणको संरक्षण गर्दै प्राकृतिक सौन्दर्यभित्र सुखी मानवीय जीवनको प्रत्याभूति दिनका लागि राज्यका सबै संयन्त्र समयमै सजग हुन आवश्यक छ ।





