विगत लामो समययता बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा चितुवाबाट जनसमुदाय त्रसित रहनु पर्ने स्थिति छ । चितुवाको आक्रमण बाट दुईजनाको मृत्युु र दर्जनौ मानिस घाइते भएपछि गुलरियामा आम नागरिकहरु असुरक्षित महसुस गर्न थालेका हुन् । विशेष गरेर बबई नदी किनार क्षेत्र वरपरको बनक्षेत्र र सुहेलवा, तुलसीपुर, बालापुर, कृष्णसार क्षेत्र र भारतीय सीमावर्ती क्षेत्रको वन सेरोफेरोमा रहेका नेपाली बस्तीमा चितुवाको आक्रमणको त्रासले गुलरियावसीहरु असुरक्षित महसुस गर्न थालेका छन् । स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन बन कार्यालय, एनटीएन्सी, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला कार्यालय तथा निकाय हरुले यतिबेला देखाएको सम्वेदनशीलता तथा तदारुकता सराहनीय छ । गुलरियामा विज्ञ सहित हात्ती परिचालन र चितुवालाई खोरमा कैद गर्न गरिएको अथक प्रयासको परिणामस्वरूप दुई वटा चितुवा पासोमा पारिएको छ । तर गुलरिया क्षेत्र वरपर अरु पनि चितुवा हुन सक्ने स्थानीयको आसङ्का छ । यसअघि कतै दुईवटा चितुवा देखिएको अपुष्ट हल्लाहरुले जनजीवन आतङ्कित बन्दै आएको थियो । भाले र पोथी चितुवा भएको खण्डमा चितुवाका बच्चा पनि हुन सक्ने सम्भावना पनि नकार्न सकिदैन । त्यसैले एक दुई वटा चितुवा समातिएका कारणले मात्र ढुक्क हुन सक्ने अवस्था छैन । सरोकारवाला निकायले अरु चितुवाको खोजी गर्ने कार्यलाई निरंतरता दिनुका साथै जनसाधारण लाई चितुवाको आक्रमणबाट जोगाउन आवश्यक उपायको खोजी जारी राख्नु पर्छ । स्थानीय नागरिक ले पनि चितुवाको आक्रमणबाट बच्न विशेष सतर्कता र सावधानी अपनाउन वान्छ्नीय छ ।






