नेपाल भारतबीचको खुला सीमाका कारण सीमावर्ती क्षेत्रकाव आम नेपाली उपभोक्ताहरु भारतीय बजारतर्फ आकर्षित हुने क्रम बढ्दो छ । भारतीय उपभोक्ताहरुको नेपाली बजारतर्फको आकर्षक भने शून्य बराबर रहेको छ । केही दशक पहिले भारतीय उपभोक्ताहरु नेपाली बजारमा किनमेलका लागि आउने गरेको पुराना ब्यापारीहरु बताउने गर्छन् । तर अहिले नेपालका सीमावर्ती क्षेत्रका बजारहरु सुनसान छन् भने भारतीय भूमिमा रहेका साना बजार पनि आकर्षक बन्न पुगेका छन् । यो दृष्य बर्दियाको सीमावर्ती क्षेत्रमा पनि देख्न सकिन्छ । जिल्लाको सदरमुकाम रहेको गुलरिया शहरका व्यापारी निराश छन् । गुलरियाको व्यापारिक अवस्था दिनप्रतिदिन खस्केको छ । दैनिक उपभोग्य सामग्रीका लागि पनि उपभोक्ताहरु चितलहवा, सलारपुर र लौकाही बजार जाने गर्छन् । मैनापोखर क्षेत्रबाट बलेगाउ र मधुबन क्षेत्रबाट बठनिया बजार जाने उपभोक्ता समेत उल्लेख्य छन् । राजापुर क्षेत्रका उपभोक्ताहरु तिकुनियाको भारतीय बजारतर्फ आकर्षित रहेका छन् । चिनी, चामल, मसला, दाल, साबुन, स्याम्पु, लत्ताकपडा, भाडाकुडा लगायतका उपभोग्य सामानहरुका लागि भारतीय बजारहरु नै नेपाली उपभोक्ताहरुका रोजाइ बनेका छन् । अहिले त नेपाली व्यापारीहरु समेत भारतीय सीमावर्ती बजारतर्फ आकर्षित हुनथालेका छन् ।

नेपाली बजारतर्फ उपभोक्ताहरु विमुख हुनाको कारण के हो ? खोजीको विषय बन्नुपर्छ । भारतीय बजारमा पाइने बस्तुहरुको मूल्य नेपाली बजारको तुलनामा सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारतर्फ आकर्षित हुने आम बुझाइ रहेको छ । भारतीय बजारका उपभोग्य सामग्रीको गुणस्तरको अवस्था के हो ? उपभोक्ता बेखबर छन् । विगतमा रहेका सीमा क्षेत्रका भन्सार तथा जाच चौकीहरु पुनस्र्थापित नहुदा सीमा क्षेत्रमा व्यापारिक अराजकता बढेको छ । अबैध निकासी पठारीको अवस्था अनियन्त्रित बनेको छ । यसबाट एकातिर व्यक्तिगत रूपमा नेपाली व्यापारीहरु मर्कामा परेका छन् भने खुला सीमा बाट अनियंत्रित रूपमा सामान आयात हुने तर राष्ट्रको अभिलेखमा नरहने हुनाले राजस्व नउठेपछि राष्ट्र घाटामा रहेको छ । नेपालको सीमावर्ती क्षेत्रको वजार तथा अर्थ व्यवस्थमा देखिएको यो गम्भीर सवाल हो । नेपालका सीमा क्षेत्रका जनप्रतिनिधि, प्रशासक तथा नीतिनिर्माताहरु यस विषयमा गम्भीर हुन आवश्यक छ ।





