नेपालका गाउँ तथा शहर जहाँसुकै लागु औषधको दुरुपयोग व्यापक रुपमा बढदै जान थालेको छ । युवा, बालबा–लिका तथा वयस्क नागरिक समेत यसका सिकार हुन थालेका छन् । लहैलहैमा होस् या रहर अथवा प्रलोभनमा परेर होस् लागु औषधको प्रयोग र ओसारपसार गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै छ ।

नेपाली समाजमा वर्तमान समयमा लागूऔषधको ओसारपसार र दुरुपयोग एक भयावह चुनौतीको रूपमा देखा परेको छ । प्रहरी प्रशासनको व्यापक सक्रियतामा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु जारी छन् तर लागूऔषधको ओसारपसार र दुव्र्यसन अनियंत्रित रूपमा बढिरहेको छ । किशोर किशोरी र युवाहरू यसको प्रत्यक्ष शिकार भैरहेको स्थिति छ । सीमावर्ती भारतीय ससाना बजारहरुमा हुने गरेको खुला आवागमन र सामान ओसारपसारले लागूऔषध नियन्त्रणमा चुनौती थपिएको छ । बर्दिया जिल्लामा पछिल्ला दिनहरूमा लागूऔषध ओसारपसार गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याउने प्रयास गरेको छ र यस काममा उल्लेखनीय प्रगति समेत हासिल गरेको छ । त्यसका बाबजुद पनि समाज मा जुन रूपमा लागूऔषधको प्रयोगको अवस्था देखिन्छ त्यो नियन्त्रण बाहिर छ । प्रहरी प्रशासनको एक्लो प्रयासबाट यसको नियन्त्रण सम्भव छैन । लागूऔषधको दुरुपयोग तथा कारोबार रोक्न सबैभन्दा प्रभावकारी काम जनचेतना हुन सक्छ । प्रशासनिक रूपमा अवैध गतिविधि गर्नेहरुलाई कानूनी दायरामा ल्याउने, सीमा क्षेत्रमा सुरक्षा सम्यन्त्रको निगरानी र सकृयता सुदृढ बनाउने, लागूऔषध ओसारपसार र प्रयोगका घटनाहरु लाई पूर्ण रूपमा निरुत्साहित गर्न नागरिक चेतनाका प्रभावकारी कामहरू संचालन अगाडि बढाउन काममा सरोकारवालाको समयमै ध्यान जानु आवश्यक छ । विद्यालयहरुलाई लागूऔषध दुरुपयोग विरुद्ध चेतना निर्माणका स्थलका रूपमा उपयोग गरिए मा प्रभावकारी नतिजा आउन सक्छ ।गैरसरकारी संघ संस्था, स्थानीय तहका जनप्रतिनिधि ,सञ्चारकर्मी र सुरक्षा सम्यन्त्रको साझा र एकीकृत प्रयास हुन सकेको खण्डमा समाजले लागूऔषध ओसारपसार र दुव्र्यसनको दुष्प्रभावबाट छुटकारा पाउन सक्छ । जिल्लास्थित सुरक्षा समितिले यसको संयोजनकारी भूमिका निर्वाह गर्दै समाज विरुद्धको यस घातक प्रभावलाई कम्जोर बनाउन एकीकृत अभियान संचालन गर्न अपरिहार्य छ । विशेषगरी सामाजिक सचेतताले नै समाजमा आइपर्ने जटिल समस्याको सामना गर्न सम्भव हुन्छ । लागुऔषध को दुरुपयोग जस्तो घातक सामाजिक रोगका विरुद्ध लड्न व्यापक नागरिक चेतना निर्माण गर्न आवश्यक छ ।





