आर्थिक वर्ष २०८१/०८२ मा मधुवन नगरपालिकाले ७५ दशमलव ०५ प्रतिशत खर्च गरेको छ ।


असार २० गते शुक्रबार मधुवनमा आयोजित नगर प्रवक्ता सँग मिडिया कार्यक्रममा मधुवन नगरपालिकाको चालुतर्फमा ८० दशमलव ५४ प्रतिशत र पुँजीगत तर्फ ६३ दशमलव ८४ प्रतिशत खर्च भइसकेको मधुवन नगरपालिकाका नगरप्रवक्ता मेक बहादुर गुरुङले जानकारी दिए ।
नगरपालिकाको यस आर्थिक बर्षको प्रगति बारे विवरण सार्वजनिक गर्दै नगरप्रवक्ताले यस आर्थिक वर्षमा १९ किलोमिटर ग्राभेल सडक र १५ किलोमिटर पक्की पिच कालो पत्रे सडक निर्माण सम्पन्न भएको जानकारी दिए । गुरुङले भने, “यस आ.व.मा अधुरा र ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेका कुनै पनि ठेक्का सम्झौता नविकरण गर्ने छैनौं ।” उनले बताए ।
प्रवक्ता गुरुङका अनुसार यस आर्थिक वर्षमा मधुवन नगरपालिका कच्ची सडक मुक्त र सबै वडामा ग्राभेल सडक युक्त बनाउने लक्ष्यमा अघि बढिरहेको छ, उनले भने ।
स्वास्थ्य क्षेत्रमा आधारभुत नगर अस्पताल सञ्चालन गरिएको र होम डेलिभरी सेवामा शून्य अवस्थामा ल्याइएको उल्लेख गर्दै उनले २०७९ साल साउन देखि हालसम्म ७ सय ५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिसकिएको गुरुङ्गले बताए ।
कृषि क्षेत्रमा ४ हजार किसान लाई उन्नत बीउ वितरण गरिए को र बसन्ते मकै ४ सय हेक्टर जमिनमा विस्तार गर्ने योजना रहेको बताए । साथै, १ सय वटा पीपीई सेट र ५ वटा सोलार ड्रायर कृषकहरूलाई वितरण गरिएको समेत गुरुङले जानकारी दिए ।

शिक्षा क्षेत्रमा मधुवन नगरपालिकामा कक्षा १० सम्म पूर्ण निःशुल्क शिक्षण भइरहेको छ । कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालय पुरस्कार प्रदान गरिएको समेत गुरुङले बताए ।
मधुवन नगरपालिकाको वडा नं. १ पत्थरबोझी स्थित सरस्वती आधारभूत विद्यालयमा रहेका अभिभावक विहीन बालबालिकाको पठनपाठन व्यवस्थापन गरिएको समेत गुरुङले जानकारी दिए ।




