काठमाडौं, पुस २८ गते / पूर्व उपप्रधान तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । आइतबार बिहान लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका हुन् ।


कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
त्यहाँबाट छुटे पनि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी आज काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएको छ । उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा बयान भइसकेको छ ।




