बर्दिया, फागुन २९ गते (माउण्टेनसमाचार) / कर्णाली पुलको तारमा लागेको आगलागीको अध्ययन गर्न विज्ञ टोलि आज पुलको निरिक्षण गर्न आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी रोसन कठायतले बताएका छन। फागुन २८ गते दिनको समयमा कर्णाली पुलमा भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सहायक प्रजिअ कठायतले जानकारी दिए।

आगलागीबाट पुलको १४ वटा ‘सपोट’ डोरीमा क्षति पुगेको छ । कर्णाली पुलबाट गाडी आवागमन बन्द भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाण्डौ तथा अन्य प्रदेशमा जाने गाडी लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ।
काठमाण्डौ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने गाडीलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न लगाईएको उनले बताए ।
हिजो बेलुका पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पुलमै पुगेपछि आगो लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रकमा लागेको आगो चार घण्टापछि मात्र पूर्णरूपमा आगो नियन्त्रणमा आएको थियो ।
ट्रकमा कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल रहेको र उनीहरुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




