वरिष्ठ अधिवक्ता भन्छन्– कारोबार नभई चेक लिनेलाई दण्ड गर्ने कानुन आवश्यक

काठमाडौँ, कात्तिक ८ गते / प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौँमा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७९/०८० मा ७ हजार १०१ वटा त्यस्ता मुद्दा दर्ता भएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई चेक बाउन्सको मुद्दामा अनुसन्धान गर्ने अधिकार दिए पनि काठमाडौँ उपत्यकामा यस्ता मुद्दा धेरै हुने गरेका छन् ।
मन्त्रिपरिषद्ले २०८० असार ५ मा बैंकिङ कसुर सम्बन्धी मुद्दा सबै जिल्ला अदालतबाट चल्ने निर्णय गरेको थियो । त्यसअघि बैंकिङ कसुरका मुद्दाहरूको सुरु कारबाही उच्च अदालतबाट मात्रै गरिन्थ्यो । उच्च अदालतमा म्याद थप गर्न र अनुसन्धान प्रतिवेदन पेस गर्न भौतिक दूरीका हिसाबले टाढा हुने भएपछि काठमाडौँ उपत्यका बाहिरका जिल्लामा बैंकिङ कसुरका मुद्दा दर्ता नै हुँदैनथे । तर मन्त्रिपरिषद्को निर्णयसँगै जिल्लाहरूमा पनि चेक बाउन्सका मुद्दाको चाप बढेको छ । साभार रातोपाटी




