बर्दियाका आठै वटा पालिकामा आज असार १५ गते ‘राष्ट्रिय धान दिवस’ धुमधामका साथ मनाइएको छ । कृषिमा आधारित नेपाली समाजमा असार १५ गतेको दिनलाई विशेष महत्व दिनमा मनाइन्छ ।


गुलरिया नगरपालिका वडा नं ५ मा भएको राष्ट्रिय धान दिवस कार्यक्रम एकीकृत कृषि तथा पंशुपक्षी विकास कार्यालय गुलरिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमैया महिला जागरण समाज नेपालको संयुक्त आयोजनामा गुलरिया नगरपालिका–५ मा धान दिवस विशेष कार्यक्रम गरि मनाईएको छ ।

धानको माग बढ्दो रहेको र उत्पादन पनि त्यसै अनुसार बढाउन जरुरी रहेको, स्थानीय जात र प्रविधिको संरक्षणमा हामी विशेष जोड दिइरहेको र वर्दिया जिल्ला धान उत्पादनको हिसाबले महत्वपूर्ण रहेको एकीकृत कृषि तथा पंशुपंछि विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले जानकारी दिए । हाल बर्दियामा प्रति हेक्टर ४.७ मेट्रिक टनसम्म धान उत्पादन हुने गरेको समेत ढकालले बताए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने “हाम्रो संस्कृति धानमा आधारित छ, दशैँ, तिहार, छठ जस्ता पर्वहरूमा धानकै प्रयोग हुने गर्छ ।” पौडेलले थपे “आजका दिन सम्म पनि किसानलाई मल उपलब्ध गराउने मामिलामा केन्द्रिय सरकारले चासो दिएको छैन् ।” नीतिगत कमजोरीले किसानलाई सास्ती भएको समेत उँनले भने । कृषक स्थानीय राम बहादुर थारुले समयमै मल नपाएकोमा दुखेसो व्यक्त गरे ।

कार्यक्रममा धान रोपाईसँगै खेतमै घैटो फोड, हिले दौड र डोरी तान जस्ता परम्परागत खेलहरूमार्फत सहभागीहरूले रमाइलो गरेको सुवेदीले बताइन । विजेता टिमलाई नगद पुरुस्कारको व्यवस्था समेत गरिएको थियो ।
धान मात्र खाद्यान्न नभई संस्कृतिको अंग रहेको, उत्पादनमा बृद्धि र परम्पराको संरक्षण गर्दै असार १५ ले नेपाली कृषकलाई आत्मनिर्भरतातर्फ अघि बढाउन प्रेरणा दिँदै आएको छ।




