राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुकी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।


परीक्षामा दुई लाख ७१ हजार २९९ परीक्षार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छ्न् । जसमध्ये ३.६ देखि ४ जीपीए अर्थात विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ जना रहेका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८९ हजार १२४ जना, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र २ जीपीएभन्दा कम ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।
नन् ग्रेडेड अर्थात परीक्षामा अनुत्तीर्ण हुने एक लाख ६७ हजार ५९७ परीक्षार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । परीक्षामा सहभागीमध्ये १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।
गणित विषयमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण
नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा शर्माले यस वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएको बताए ।
समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद् भएको छ । विद्यार्थीलाई अंग्रेजी विषय पनि उस्तै गाह्रो भएको उनले बताए ।
अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको उनले बताए ।
बोर्डका अनुसार, ऐच्छिक विषयमा पनि धेरै विद्यार्थी ननग्रेडेडमा परेका छन् । ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० विद्यार्थी ननग्रेडिङमा परेका छन् । त्यस्तै ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी असफल भएका छन् ।
पूरक परीक्षाको मिति तय
एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने शर्माले बताए । विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुन परीक्षण गर्न सकिने उनले जानकारी दिए । यसका लागि असार २३ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सकिने भएको छ ।




