बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले सार्वजनिक रूपमै माफी मागेका छन्।

चैत्र २१ गते बिहीबार दिउँसो आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसअघि चैत्र १९ गते आफूले सामाजिक सञ्जालमा लेखेका कुराहरू गलत भएको भन्दै आफै खण्डन गर्दै माफी मागेका छन्।

चैत्र १९ गते मंगलबार दिउँसै मदिराले मातेर बारबर्दिया नगरपालिकाको कार्यालयमा आएर उपमेयरको कार्यकक्षमा प्रवेश गरी झैझगडामा उत्रिएपछि प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
मापसे जाँचमा प्रमुख प्रशासकीय अधिकृतको मात्रै मापसे पुष्टि भएको थियो।
सोही साँझ बेलुकी नै प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित तीनै जनालाई रोहबरमा छाडेको थियो।
प्रहरीले पक्राउ गरेपछि पनि मदिराले मातेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारूले पावर टिलर खरिदमा ठेकेदारसँगको झोंकमा आफूमाथि हर्कत गरिएको दोष लगाएका थिए।
आचार्यले चैत्र २१ गते बिहीबार दिउँसो आफ्नो फेसबुकको सामाजिक सञ्जालमा अर्को स्ट्याटस लेख्दै आफूले मंगलबार बेलुकी लेखेको स्ट्याटस गलत रहेको स्वीकार गरेका छन्।




