तराई चिसिएको छ,आकाशभरि कुहिरोले कहर छरिरहेछ,बस्तीमा शीत लहर झरिरहेछ, यो पौषको अन्तिम समय ,जाडो यौवनमा छ, तर बर्दियामा महोल असाध्यै भिन्न छ,यहाँको समय महोत्सवमय छ, वातावरण व्यापार ,मेला र उत्सवमय छ।

पौष २७ गते ,पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन, गुलरिया स्थित पृथ्वी चोकमा नव निर्मित राष्ट्र नायक पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाका फूल अर्पण गर्यौ ,भावनाका शब्द पुष्प चढायौ र सरासर राजापुर गयौं ।उद्योग बाणिज्य सङ्घ राजापुरले औद्योगिक व्यापार मेलाको आयोजना गरेको थियो , म आमन्त्रित थिइन त्यो कार्यक्रममा, तर पनि उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे र सहृदयी पत्रकार साथी दीपक लाल श्रेष्ठको भावनात्मक आग्रहलाई अनादर गर्न नसकेर म राजापुर गएको थिए ।
मलाई दुनियाँमा सबैभन्दा मन पर्ने शहर राजापुर हो।राजापुर मेरा लागि सपनाको स्वर्ग हो। जब म बालापन सम्झन्छु ,म भावनाको गहिराइमा डुबुल्की मार्न पुग्छु।भौरा टापु शिरानको गोला गाउँ ,जहाँ मेरो बालापन बित्यो ।
त्यहाँबाट ससानो किनमेलका लागि समेत राजापुर आउनुपर्थ्यो।यही चिसो समयमा सानो कक्षाका किताब किन्न पनि राजापुर नै आउनुपर्थ्यौ।कैयौं दिन धाए पछि मात्र किताब किन्न सकिन्थ्यो।धान बेच्नका लागि पनि राजापुर नआई हुदैन्थ्यो। धान बेच्न ठूलै संघर्ष गर्नु पर्थ्यो भने बेचिसकेको समय ससानो उत्सव जस्तै हुन्थ्यो।आहा १त्यतिबेलाको राजापुर चकाचक हुन्थ्यो। लहरका लहर धानका लडिया, किसानहरुको उस्तै भीड।हुम्ला ,जुम्ला ,बाजुरा ,कालीकोट ,अछाम ,दैलेख ,पश्चिम सुर्खेत र कैलालीका मान्छेहरुको ठेलमठेल। साच्चै राजापुरमा मान्छेको भीड हुन्थ्यो। म सानो हुँदा त्यो भीडमा कतिपटक हराएको छु।
राजापुर पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र र नेपाल भारत नाकाको चल्तीको शहर थियो। राजापुरमा नेपाल राष्ट्र बैङ्कको सटही काउन्टर राखिएको थियो ।त्यहाँ भारत जाने र भारतबाट आएकाहरु रुपैयाँ साटन लाइन लागेका हुन्थे।हिमाल ,पहाडका हटारुहरु राजापुरमा हाट भर्थे।जुम्लाका जडिबुटी र दैलेख अछामका घिउले सुगन्धित भएको हुन्थ्यो राजापुर ।
भारतीय ठूल्ठूला व्यापारीका कोठीहरु,धानका खातखात थुप्राहरु,हटारुका लहरै राखिएका डोकाहरुले राजापुरलाई सजाएका हुन्थे ।तराई ,पहाड र हिमालका मनहरुलाई एक ठाउमा बास दिने राजापुर सुन्दर चौतारी थियो कुनै समय ।त्यसै भएर प्रत्येक दिन राजापुर आईरहू झै लाग्थ्यो मलाई ,लाग्थ्यो राजापुरमै बसिरहू।
२०४६ को परिवर्तन पहिले राजापुरमा रौनक फरक थियो।दमनध्वज चन्द ,शालिकराम चौधरी जस्ता वजनदार नेताहरु थिए ।शैक्षिक क्षेत्रमा पनि अमर सहिद दशरथ चन्द माविको नाम उच्च थियो ।राजा वीरेन्द्रले नेपालकै नमुना आधुनिक चामल कारखानाको स्थापना गरिदिनु भएको थियो।साहित्य कला क्षेत्रमा मिठ्ठनलाल गुप्ता जस्ता विद्वान हुनुहुन्थ्यो ।लाग्थ्यो राजापुर हासेको छ।
समयको प्रवाह बदलियो ।२०४६ पछि राजनैतिक परिदृष्यमा नयाँ व्यक्ति र शक्तिको उदय भयो ।पश्चिममा ठूला राजनैतिक व्यक्तिहरु शक्तिमा उदाउनु भयो ।उहाँहरुको प्राथमिकतामा कैलाली र कंचनपुर परे ,बर्दिया परेन।पूर्वमा नेपालगन्जले महत्व पायो ,सम्पूर्ण पूर्वाधार त्यहीँ बने।कर्णाली किनाराको युगौ पुरानो प्राकृतिक बाटो ओझेलमा पर्यो।नेपालगन्ज र धनगढीबाट पहाड हिमाल जोड्ने बाटाहरु बने।
केन्द्रमा पहुच भएको नेता बर्दियाले पाएन।विकासमा समानता र न्याय खोज्ने नेता देशले पाएन ।परिणाम बर्दिया उपेक्षित हुदै गयो ,राजापुर किनारमा पर्दै गयो ।अपसोच१कर्णालीको यो सुन्दर किनारामा एउटा गतिलो विश्वविद्यालय बनेको भए,एउटा ठूलो अस्पताल बनेको भए ,यति राम्रो यो ठाउँ शिक्षा र स्वास्थ्यको केन्द्र बन्ने थियो ।राज्यको ध्यान गएन ।हामीले सकेनौं ।राजापुर सिचाइ परियोजनाले यहाँको जनजीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन खोजेको थियो ,दोस्रो चरणको काम नहुदा त्यो अधुरो रह्यो ।हुलाकी सडक निर्माणमा देखिएको ढिलाइले राजापुरको समृद्धिलाई गिज्याइरहेको छ।
राजापुर तीव्र विकासको प्रतीक्षामा छ ,राजापुर आफ्नो अतीत सम्झीरहेको छ। उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा म उही पुरानो राजापुरको रौनक खोजीरहेको छु।मंचको कार्यक्रममा छु।प्रमुख अतिथि नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोर राठौर हुनुहुन्छ ,अतिथि मुख्यमन्त्री दिल्ली बहादुर चौधरी ,मानननीय शान्ति चौधरी ,माननीय जन्मजय तिमिल्सिना लगायत जनप्रतिनिधिहरु हुनुहुन्छ ।उहाँहरुले मंचबाट राजापुरको मुहार बदल्ने प्रतिज्ञा गर्नुभएको छ,उत्साहहीन राजापुर चुपचाप सुनिरहेको छ।मानसपटलमा अतीत बोकेर राजापुर जनप्रतिनिधिहरु समक्ष न्याय मागीरहेको छ,समृद्धि खोजीरहेको छ ।




