• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जनमतद्वारा निष्पन्न सर्वथा स्तुत्य सन्देश

  •  नकुल काजी
  • २०८२ फाल्गुन २६, मंगलवार २१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशको शासनलाई हुकुमी शैलीमा हाँक्तै आएका पुराना दलहरूलाई यही फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले सम्पूर्ण रूपमा ‘असान्दर्भिक’ बनाइदिएको छ । यो अवस्थालाई देशी-विदेशी कतिपय विश्लेषकहरूले नागरिक कित्ताको मनोविज्ञानलाई अघि सार्दै ‘दृष्टि-थकान’-को भूमिका पनि थप भएको औंल्याएका छन् । २३९ वर्षे राजतान्त्रिक शासनबाट मुक्त भएर लोकतान्त्रिक शासन-व्यवस्था उपस्थापित भएको यो मुलुकमा २०४८ सालबाट आजसम्मको ३५-३६ वर्षसम्म पनि उनै तीन नाम-थरि र गोत्रीय अलोकतान्त्रिक शासक मात्र पालैपालो देशको मुखिया भइरहेको देखिरहनु पर्दा आँखा थाकेकाले पनि नागरिकमा ‘परिवर्तन’-को याचना बढेको हो भन्ने यो विश्लेषणको अभिप्राय हो ।

    प्रजातन्त्रोत्तर यस देशमा सत्रौं शताब्दीको सामन्तहरूका प्रतिकृति स्वरूप पालैपालो देशका सम्पूर्ण अवयवमाथि बलात् थिचोमिचो गर्दै आएका तीन भिन्न दलका नेता र तिनका अधिनस्थ राजनीतिको नाममा हुँदै आएका स्वेच्छाचारी चलखेलकालमा स्वार्थपूर्तिका लागि जुट्ने र स्वार्थपूर्तिकै लागि फुट्ने कचिंगल र झगडा चल्दै आएको थियो । त्यसो त, अर्काेलाई ‘देश जलाउने’ र आफूलाई ‘देश बनाउने’ तथा अर्काेलाई ‘विदेशी दलाल’ र आफूलाई ‘राष्ट्रवादी’ विशेषणले सिंगार्ने जस्ता निर्लज्ज पक्षभेदी दुर्मुख्याइँ एवं लंगट्याइँमै आफ्ना अधिकांश दिनचर्या गुजार्दै आएका घटनावलीहरू मनग्गे छन् ! यस फाँटमा पनि वाचालजिब्रे खड्ग ओलीको स्थान उत्कर्षमा त थियो नै ! आफूले नेपाली कांग्रेसका तत्कालीन मालिक दम्पतीबाट ‘राष्ट्रको कार्यकारी शासक’ बनिपाउने समयको ‘अंशबण्डा’ हात पारेपछि उनमा युगाण्डेली दादा इदी अमिन झैं क्रूरताको प्रेत जागेको थियो ! ससाना अबोध बाल-बालिका लगायत ७६ जनाको ज्यान लिने र हजारौं न्यायापेक्ष नेपालीको अंगभंग गरेर आफ्नो देश लुट्ने धन्धा सुरक्षित गरेको कथा, यो कलमले जस्तै, इतिहासले पनि अभिशप्त पन्नामा नराखी अवश्य पनि धर पाउने छैन ।

    त्यसमाथि प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रसम्मको दलीय लडिबडीको ३५-३६ वर्षपछि सर्वाधिक जनमतले धन्य भएका ३५ वर्षीय युवा बालेन साहा (शाह ?)-तर्फ निर्वाचनताका लक्षित ‘बतासे अण्डा’-को टुक्के झटारो आज ओलीतिरै बुम्राङ भएको छ । त्यही अण्डाबाट कोरलिएका सयौं स्वस्थ र सर्वभावेन समर्थ्य चल्लाहरू संसद् भवनतिर गइरहेका दृश्य पनि खड्ग ओलीका ‘देख्ने-अन्धो’ आँखाले देख्तैन भने ‘नकच्चराको ओखति हुँदैन’ उखानमै चित्त बुझाउनुको विकल्प पनि छैन ! ती सयौं चल्लाहरूको आजको सल्बलाहट बारे चार/चार पटक प्रधानमन्त्री भएर यस देशमा, रुमानियाली नवाब शासक निकोलाइ चाउचेस्कु शैलीमा, रजगज जमाएको मान्छेको खुराफाती गिदीले अर्काे दुर्वचन के फलाक्ला ?- त्यो सुन्न-हेर्न निर्दाेष नेपाली नागरिक अब चनाखो भएका छन् ।

    डरलाग्दो भासतिर गइरहेको भयङ्कर दुर्घटनाको सम्भावनाबाट देशले मुक्ति पाएको छ । त्यही भएर यसपटक अर्थात् ३५ वर्षपछि यही फागुन २१ मा सम्पन्न निर्वाचनमा निरीह बन्दै आएका जनता निर्धक्क प्रस्तुत भएका हुन् । र, यसको शुरु प्रकटीकरण थियो- जेन-जेड विद्रोह !

    देशलाई आफ्नो बपौति वा किपट मानेर मनोमानी गर्दै आएका खड्ग ओली र उनका संगतिया लुटेराहरूले नेपालीका पवित्र मन-मुटु र रक्तबलिदानबाट उदित ‘लोकतन्त्र’-को स्वतान्य एकलौटी दुरुपयोग गर्दै त्यसलाई व्यवहारमा ‘लूटतन्त्र’ (क्लेप्टोक्रेसी)-मा उल्था गरेका अनेकानेक घटना सर्साउँदा छन् । विशेषतः ओलीका पाउभक्त-दासरूपी पिछलग्गुहरू त्यही मध्ययुगीन कबिलासदृश ‘…तन्त्र’मा रमाएर बुर्कुसी मार्दै आएका थिए ! ती र त्यस्ता यावत् दिनहरू आज निर्दाेष नेपाली जन-मनमा पनि घाउ बनेर स्मरणमा आला छन् ! तर, बल्ल अहिले आएर देशले डरलाग्दो भासतिर गइरहेको भयङ्कर दुर्घटनाको सम्भावनाबाट मुक्ति पाएको छ । त्यही भएर यसपटक अर्थात् ३५ वर्षपछि यही फागुन २१ मा सम्पन्न निर्वाचनमा निरीह बन्दै आएका जनता निर्धक्क प्रस्तुत भएका हुन् । र, यसको शुरु प्रकटीकरण थियो- जेन-जेड विद्रोह ! अन्ततः त्यही विद्रोहले तुल्यायो- असली र वैध जनक्रान्ति । अहिलेको सरकार र त्यसले अभ्यासपटमा आकृत गर्ने, हाल सम्पन्न निर्वाचन समेत, सबै कार्यक्रमहरूलाई उपर्युक्त क्रान्तिकै निरन्तरता मानिरहँदा यो निर्वाचनद्वारा निष्पन्न परिणाम पनि जोडिन्छ । सोझो शब्दमा भन्दा – यो परिणाम नेपाली नागरिकको प्रतिरोधी भावनाको अविकृत प्रकटीकरण हो ।

    अघि-अघि पनि देशमा विभिन्न किसिमका जनक्रान्तिहरू भएका थिए । तर, ती क्रान्तिहरू उदरम्भी त्रिदलीय नेता उर्फ कबिला सरदारहरूका दलनमा परेर दफन भएका रहेछन् ! शायद यिनै मानवतारहित हिंस्रकहरूको नेतृत्वमा जकडिएकाले पनि ती क्रान्तिद्वारा सम्बोधित यथार्थपरक विषयहरू ओइलाएका थिए । त्यसैले अहिलेको जन-अनुमोदित क्रान्तिले देशका सारा दुर्गन्धित र विषाक्त सिनुहरू बढारेर वातावरण चोख्याएको छ । यसै पनि, देशलाई स्वार्थतृप्तिको बलिवेदीमा घँचेट्ने दलीय तानाशाहहरूबाट देशको सर्वांग प्रताडित थियो । पूर्ववर्ती ती तमाम बेथिति र दलनहरू अबउसो कुनै परिस्थितिमा नदोहरिने वाचा व्यवहाराकृत होस् भन्ने अतुल्य जनअपेक्षा अहिलेको सन्दर्भ हो । ‘नेपाल’ राष्ट्र, ‘नेपाली जनगण’-लाई फेरि कुनै किसिमबाट कुनै अर्को हृदयहीनले निर्मम ढङ्गले नेपालीबाट थुत्ने-खोस्ने अनि एकाधिपत्य जमाएर भोग्ने वातावरण नबनोस् – यही भावले आवर्तित-परावर्तित चेतना यस निर्वाचनमार्फत अभिव्यक्त जनमतको आभ्यन्तरिक आग्रह हो । यो जन-आग्रहलाई अबको ‘समय’-मा इमानका साथ सम्बोधन गर्न नवोदित नेता-नायकहरू होशियार हुनै पर्दछ ! जनगणले चाहेका खण्डमा के गर्न नसक्तो रहेछ ? खबरदार ! चेतना भया !…

    फेरि गुण्डुबाट रिट्ठे-भोगटेहरू जस्ता कौडे-कन्दनेले लूटको धन खर्चेर किन्ने र ध्वाँस-पिटाइ गर्ने मौका पाउनु हुँदैन । तिनका पातकी गर्जन आइन्दा देशको कुनै कुनामा कतै पनि नचलोस् । फेरि ती भयप्रभावी प्रेत-अनुहारहरू र तिनका बुख्याँचाहरूले यो बुद्धभूमिमा आदिकालदेखि अभीप्सित शान्ति र सहिष्णुतालाई खलल पार्ने र परिहासमा थेचार्ने मौका जन्मिँदै नजन्मिने निश्चितता सदा बहाल रहोस् । हिजोका पीडादायी सम्झनाद्वारा आहत र आजको आशा-भरोसा आवेष्टित उल्लासमा यति नै भन्ने हो । भोलि त के हुन्छ, त्यो आजै भन्न सकिँदैन । त्यसैले, आजलाई यत्ति नै ।

     

     

     

    साभार घटना र विचार/नकुल काजी

    Post Views: 101
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यौनहिंसापीडितका लागि आशाको केन्द्र बन्दै सामाजिक सञ्जाल
    रवि लामिछानेको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै
    इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन
    ताजा अपडेट
    • १. यौनहिंसापीडितका लागि आशाको केन्द्र बन्दै सामाजिक सञ्जाल

    • २. रवि लामिछानेको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

    • ३. इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन

    • ४. रुकुम पूर्वका डीएसपी यादव छानबिनमा, एसपीको नेतृत्वमा समिति गठन

    • ५. बर्दियामा ३ पूर्वमन्त्रीसहित ३० उम्मेदवारको जमानत जफत

    चर्चित
    • १. बर्दियामा ३ पूर्वमन्त्रीसहित ३० उम्मेदवारको जमानत जफत

    • २. जनमतद्वारा निष्पन्न सर्वथा स्तुत्य सन्देश

    • ३. बर्दियामा निर्वाचन प्रहरी हरुको बिदाई

    • ४. विगततर्फ फर्केर हेर्दा

    • ५. रवि लामिछानेको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.