बर्दियामा जिल्ला प्रशासन कार्यालय बर्दियामा राहदानी विवरण दर्ता (Enrollment) गर्ने कार्य अस्थायी रूपमा स्थगित गरिएको छ ।

राहदानी शाखाबाट विवरण दर्ता गर्ने क्रममा आएको प्राविधिक समस्या समाधान नभएसम्मका लागि सेवा स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
कार्यालयले आइतवार एक सूचना जारी गर्दै राहदानी विवरण दर्ता गर्ने कार्य अवरुद्ध भएको जानकारी गराएको छ । सूचनामा भनिएको छ, “कार्यालयबाट सामान्य रूपमा सञ्चालन हुँदै आएको राहदानी विवरण दर्ता (Enrollment) सेवा प्राविधिक कारणवश स्थगित भएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा बन्द गरिएको जानकारी गराइन्छ।”
प्रशासकिय अधिकृत धनीराम शर्माले हस्ताक्षर गरेको सूचनामा भनिएको छ कि, यसअघि दर्ता सम्पन्न भइसकेका राहदानीहरूको छपाई तथा वितरण कार्य भने यथावत रूपम सञ्चालन रहनेछ । त्यसैले आफ्नो राहदानी दर्ता प्रक्रिया पूरा गरिसकेका सेवाग्राही लाई कुनै समस्या नहुने सूचनामा उल्लेख छ ।
सूचनामा “प्राविधिक मर्मत कार्य पूरा भएलगत्तै सेवा पुनः सुरु गर्नेछौँ । आवश्यकताको आधारमा यसबारे थप सूचना प्रकाशित गरिनेछ,” भनिएको छ ।




