• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गण्डकी मुख्यमन्त्री पाण्डेलाई विश्वास मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २५, शुक्रबार १७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्।

    गण्डकीमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दल नेता पाण्डे मुख्यमन्त्री छन्। गत जेठ १६ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।

    मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन्। यहाँ बहुमतका लागि ३१ जना सांसदको साथ चाहिन्छ।

    सभापति देउवाले शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग गरिएको छ।

    ‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ।

    मुख्यमन्त्रीले लिने विश्वास मतले गण्डकी प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूका बीचमा नयाँ विश्वास तथा सहकार्यको वातावरण बन्नेछ भन्‍ने कुरामा कांग्रेस विश्वस्त रहेको सभापति देउवाले पठाएको पत्रमा उल्लेख रहेको स्रोतको भनाइ छ।

    सर्वोच्च अदालतले दिएको परमादेशअनुसार विशिष्ट परिस्थितिमा कांग्रेस संसदीय दल नेता पाण्डे गण्डकी मुख्यमन्त्री बनेको पनि देउवाले पत्रमा उल्लेख गरेका छन्।

    यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मत असंवैधानिक भन्दै कांग्रेस संसदीय दल नेता पाण्डे सर्वोच्च गएका थिए।

    पाण्डेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पाण्डेलाई संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो।

    संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा (एमाले) संसदीय दल नेता अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वोच्चले पाण्डेलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    गत वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा विश्वास मत प्रस्ताव राख्दा पक्षमा ३० सांसदले मत दिएका थिए। तर सभामुख कृष्ण धितालले मुख्यमन्त्री अधिकारीले विश्वास मत प्राप्त गरेको प्रदेश सभामा घोषणा गरेका थिए। यसविरूद्ध कांग्रेस सर्वोच्च गएको थियो।

    गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र राजीव गुरुङ ‘दीपक मनाङे’ गरी ६० जना सांसद छन्।

    दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका खण्डमा पनि अझै बहुमतका लागि दुई सांसद आवश्यक पर्ने देखिन्छ। दीपक मनाङ्गे र फणिन्द्र देवकोटाको साथ लिएर मुख्यमन्त्री पाण्डे विश्वास मत लिने तयारीमा रहेको चर्चा छ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईनिकट देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा जितेका थिए। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीबाट एक सांसद रहेको अभिलेख छ। देवकोटाले यसअघि मुख्यमन्त्री अधिकारीलाई विश्वास मत दिएका थिए।

    तर यसपटक देवकोटाले पाण्डेको पक्षमा मत दिन्छन् वा विपक्षमा भन्ने टुङ्गो छैन।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन लडेका र निर्वाचित भएका सांसदहरु समेत रहेर एउटै संसदीय दल गठन हुने व्यवस्था छ। त्यस्तो संसदीय दललाई सचेतकले ह्विप लगाउन सक्ने व्यवस्था उक्त दफाले गरेको छ। तर राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ को उपदफा ३ ले सचेतकले ह्विप लगाउँदा पालना नगरे कारबाहीका लागि सम्बन्धित दलमा सिफारिस गर्ने व्यवस्था गरेको छ। यस्तो अवस्थामा देवकोटाको दल नेपाल समाजवादी पार्टी अथवा माओवादी कुन दललाई सचेतकले कारवाही सिफारिस गर्छन् भन्ने प्रश्न अनुत्तरित छ। देवकोटा समाजवादी पार्टीमा भएकाले उनलाई माओवादी पार्टीले कारबाही गर्न मिल्छ कि मिल्दैन भन्ने विषय निरुपण गर्नुपर्ने हुन्छ।

    तर राप्रपाले भने संघीय सत्ता गठबन्धनमा रहेका दलले नेतृत्व गरेकाबाहेकलाई प्रदेश सरकारमा समर्थन गर्न सकिने बताएको छ।

     

     

    सेतोपाटी/साभार

    Post Views: 268
    प्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार १७:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.