बर्दिया, फागुन २९ गते / बर्दियाको गुलरियामा दुई दिने स्थानिय तहमा कार्यरत जनशक्तिको एकिकृत शैक्षिक सूचना प्रणाली क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना तथा राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा फागुन २७ र २८ गते स्थानिय तहमा एकिकृत शैक्षिक सूचना व्यवस्थापन सम्बन्धी कार्यमा जनशक्तिको क्षमता विकास तालिम संचालन गरिएको हो ।
शैक्षिक संस्थाका शैक्षिक विबरण समयमा नै अद्यावधिक गर्ने, शिक्षा क्षेत्रमा सुचना प्रविधिको प्रयोग आधिकारिकता तथा गुणस्तरिय कायम गर्ने तथा शैक्षिक संस्थाको सञ्चालन व्यवस्थापन, दक्षता अभिवृद्धि एवम् विद्यार्थीहरुको शैक्षिक उपलव्धिहरुको बृद्धि गर्ने कार्यक्रमको मुख्य उदेश्य हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र उपसमितीका रामचन्द्र शर्माका अनुसार विगतका दिनहरुमा इकाई बनाउदा हातले कम्युटरमा इन्ट्री गरिन्थ्यो भने पछि गएर सुचना प्रणालीलाई व्यवस्थापन गर्नका लागि अनलाईन मार्फत भैइरहेको र क्रमश विकसित हुदै गर्दा परिक्षा व्यवस्थापन देखि विद्यार्थीहरुकको विवरण, शिक्षक, विद्यालय, पालिका लगाएत देश भरि नै विकसित भएको बताउदै कर्मचारीहरुले काम गर्दै जादा भोगेको समस्याहरुको समाधान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शर्माले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख रेविका अमात्यले २ दिने क्षमता विकास कार्यक्रम एकदमै उपलव्धि मुलक भएको बताउनुभयो । कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेलले आगामी दिनमा सहभागिहरुबाट आएको पृष्ठपोषणलाई सम्बोधन गरिने बताउनुभयो ।
कार्यक्रममा शिक्षा सम्बन्धी महत्वपूर्ण वेबसाइटहरु कसरी हेर्ने, शिक्षा क्षेत्रको गतिविधी, एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली, विद्यार्थीहरुको अंक प्रविष्त गर्ने तरिका, विद्यार्थीहरुको विबरण सच्याउने तरिका, शिक्षक शैक्षिक योग्यता संग सम्बन्धी तथा विद्यालयको भौतिक अवस्था लगायत विविध बिषयमा छलफल तथा अन्र्तक्रिया गरिएको छ ।
कार्यक्रममा बर्दियाका आठ वटै स्थानिय तह गु्लरिया नगरपालिका, बारबर्दिया, ठाकुरबाबा, बाँसगढी, मधुवन, राजापुर नगरपालिकाका, बढैया गाउँपालिका र गेरुवा गाउँपालिकाका शिक्षा शाखा अधिकृत, शिक्षा शाखा साहायक प्राविधिकहरु, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनलका कर्मचारीहरुको लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षा तथा मानव स्रोत विकास केन्द्र उपसमितीका काठमाडौंका रामचन्द्र शर्मा र संवेदन कोइरालाले गर्नुभएको थियो ।




