१३ पुस, हेटौंडा। सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो । उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।
बिहीबारदेखि सुरु भेलामा मुख्यमन्त्रीहरुले संघीय सरकारले अधिकार नदिएकोप्रति आलोचना गरिरहेका छन् । प्रदेशले के काम गर्ने भन्दा पनि उनीहरुको उदेश्य संघीय सरकारलाई दवाव दिने मात्र देखिएको छ ।
केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन् । भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरूसमेत सहभागी छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको समेत छुट्टै बैठक बस्दैछ । बैठकले केन्द्र सरकारलाई तत्काल अधिकार दिन माग गर्नेछ ।
संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि उनीहरुले संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न र अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए ।
कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा भेला गर्दै ६ महिनाभित्र अधिकार दिन माग गरेका थिए । भेला संघप्रति मात्र केन्द्रित छ । प्रदेशले गर्न नसकेका काम र गर्नुपर्ने कामका विषय एजेण्डमा परेका छैनन् ।




