बर्दिया,माघ २९(माउण्टेनसमाचार)/ आर्थिक स्थिती कमजोर रहेका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । लालिगुराँस प्रतिष्ठान अमेरिका तथा रन फर आवर डटर्स एजुकेशन च्यारिटीको सहयोगमा रक्षा प्रतिष्ठानले छात्राहरुलाई सोमबार छात्रवृत्ति वितरण गरेको हो ।


चार वटा पालिकाका २१ वटा विद्यालयका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १२ मा अध्ययनरत आर्थिक स्थित कमजोर रहेका २१ छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । प्रतिष्ठानले छात्राहरुलाई चेकबाट छात्रवृत्ति हस्तान्तरण गरेको छ ।

छात्रवृत्तिले गरिब तथा जेहनदार विद्यार्थीहरुको लागि प्रेरणा तथा हौसला मिलेको एक छात्राले अभिव्यक्ति दिईन् । छात्रवृत्तिले छात्राहरुलाई अघि बढ्न मद्दत पुग्ने छात्राहरुले प्रतिक्रिया दिएका छन् ।
२१ जना छात्राहरुलाई छात्रवृत्तिको रुपमा रु २ लाख ६७ हजार ३ सय वितरण गरिएको रक्षा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुधांशु प्रकाश शर्माले जानकारी दिए । न्युनतम रु ६ हजार ६ सय र म्याक्सिमम रु १५ हजारका दरले २१ जना छात्रवृत्ति वितरण गरिएको छ ।

राजनीतिकबाट टाढा राखेर आमाको नाममा प्रतिष्ठानको स्थापना गरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्वमन्त्रि तथा संघिय सांसद संजय कुमार गौतमले बताए । यस प्रतिष्ठानले गरिबहरुको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिएर काम गर्ने गौतमले भनाई राखे ।

छात्रवृत्ति वितरण कार्यक्रममा संघिय सांसद संजय कुमार गौतम, लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरी, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाका नगर प्रमुख छविलाल थारु,उप–प्रमुख रत्ना कुमारी पाण्डे, सहायक प्रजिअ रोशन कुमार कठायत, रक्षा प्रतिष्ठानका पदाधिकारी, नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावललगायत विद्यलायका प्रधानाध्यापक र छात्रवृत्ति पाउने छात्राहरुको सहभागिता रहेको थियो ।





