ठाकुरबाबा नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ शिक्षकको मासिक पाउने भक्तामा बृद्धि गरेको छ ।
भदौं १३ गते शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले प्रधानाध्यापक भत्ता उल्लेख्य दरले वृद्धि गर्ने निर्णय गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले बताए ।
संघीय सरकारले शिक्षकहरुलाई उपलब्ध गराउँदै आएको मासिक भत्तामा मावि तहमा ६ सय प्रतिशत वृद्धि भई मासिक ३ हजार रुपैया, निमावि तहमा ८ सय ३३ प्रतिशत वृद्धि भई मासिक २ हजार ५ सय रुपैया तथा प्रावि तहमा १ हजार प्रतिशत वृद्धि भई मासिक २ हजार रुपैया पुग्ने गरी निर्णय गरिएको समेत नगरप्रमुख लम्सालले जानकारी दिए । साथै विद्यालयमा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक विद्यालयबाट प्रस्ताव माग गरी ६ लाखको विशेष बजेट उपलब्ध गराइने निर्णय पनि समेत गरिएको नगरप्रमुख लम्सालले भने ।

सृजनात्मक गतिविधि सञ्चालन गर्न विद्यालयहरूले थप बजेट तथा आवश्यक सहयोग पाउने समेत उनले बताए ।
नगरपालिकाले प्रधानाध्यापकहरूको मनोबल उच्च राख्दै नेतृत्व क्षमता र जबाफदेहिता सुदृढ गर्न हालै मात्र मावि तहका सबै प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल वितरण गरेको थियो । ठाकुरबाबामा ९ वटा मावि, ४ वटा आधारभूत र ५ वटा प्रावि रहेका छन् ।
नगरपालिकाले यस्ता नविनतम् कार्यक्रमहरूले शैक्षिक क्षेत्रलाई आधुनिक पद्धतितर्फ अग्रसर गराउँदै समग्र शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने समेत नगरप्रमुख लम्सालले भने ।




