भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा बिहीबार बिहान ठूलो विस्फोट भएको खबर आएको छ।

पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टमा भनिएको छ- विस्फोटको आवाज धेरै ठूलो थियो र कम्तीमा तीन किलोमिटर टाढासम्म सुनिएको थियो। यो विस्फोट गुलमर्ग क्षेत्रमा भएको थियो र यहाँ नजिकै सेनाको आवासीय परिसर छन्।

रिपोर्टअनुसार विस्फोटको आवाजपछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ र उद्धार टोली घटनास्थलमा पुगेको छ।
यद्यपि, हाल विस्फोटमा कति जना घाइते भएका छन् भन्ने कुरा थाहा छैन।
एआरवाई न्युजले बिहान सबेरै भएको विस्फोटको आवाजले सम्पूर्ण लाहोर हल्लाएको र विस्फोटपछि मानिसहरूमा त्रासको वातावरण रहेको बताएको छ।
मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ।
भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ।
उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।
यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।
जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।
साभार /नेपाल खबर




