बर्दिया, चैत्र १४ गते / विगतको तुलनामा पछिल्लो समय महिलाहरूको नेतृत्व विकासको क्रम अगाडि बढिरहेको छ । महिलाहरु आफैले पनि विद्यमान कानुन सम्बन्धी जानकारी लिदै आफ्ना हकअधिकार खुलेर लिन सक्षम भएको बताएका छन ।

गुलरिया नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा शान्तिपूर्ण स्थापना केन्द्र बर्दियाको आयोजनामा चैत्र १२ बर्दियाको गुलरियामा महिलाहरूका लागि सशक्तिकरण तालिममा सो कुरा बताइएको हो ।
मंगलबार भएको आदिवासी ,जनजाति ,दलित ,मधेसी , मुस्लिम र अन्य महिलाहरूका लागि सशक्तिकरण तालिम समापन कार्यक्रममा शान्ति पुनर्स्थापना केन्द्र बर्दियाकी संयोजक सपना शर्माले वडा नं ६ का महिलाहरुको सहभागीता रहेको बताइन ।
तालिममा सहभागीहरूलाई प्रजनन स्वास्थ्य , वडाले दिने सेवा सुविधा , कानुनी उपचार तथा महिला सशक्तीकरण बारे जानकारी दिएको शर्माले बताइन ।
गुलरिया नगरपालिका वार्ड नम्बर ६ वडा सदस्य एवं कार्यपालिका सदस्य शोभा भण्डारीले तालिममा आफूले पनि धेरै कुरा सिकेको बताइन ।
वडा नं ६ का महिला हरूलाई दिइएको तालीममा महिलासँग भएका संवैधानिक अधिकार, कानुन व्यवस्था , महिला नेतृत्व को परिभाषा तथा अधिकार जस्ता विषयमा प्रशिक्षक अधिवक्ता लक्ष्मी नेपाल बाट सहभागी महिलाहरुलाई जानकारी गराइएको भण्डारीले बताइन ।
तालिमबाट आफूहरूलाई धेरै कुराको ज्ञान भएको सहभागीहरुले बताए ।वडाबाट हुने सामान्य काम पनि झन्झटिलो मानिने र सिकेपछि त्यही काम गर्न सजिलो हुने उनीहरुले बताए।
एक सहभागीका अनुसार महिलामा हुने प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको अभावमा आफ्ना रोगहरू लुकाउनुपर्ने अवस्था रहेको थियो तर तालिममा सहभागी भएपछि कसरी स्वास्थ्य केन्द्रमा वा सम्बन्धित निकायमा गएर सजिलै उपचार गर्न सकिन्छ उनले जानेको बताइन्।
वडा नं ६ का करीब २ सय ५० बढी महिला सहभागीता रहेको सञ्चालित तालिममा महिला सशक्तिकरण तालिमको प्रशिक्षण अधिवक्ता लक्ष्मी नेपाल, वडा नम्बर ६ का वडा सचिव केशव खनाल,आधारभूत स्वास्थ्य केन्द्र वडा नं ६ कि सि.अ.हे.व. दीपा ज्ञवाली र शान्तिपूर्ण स्थापना गृहकी संयोजक सपना शर्मा वाट गरिएको थियो।




