बर्दिया, जेष्ठ ९ गते / महिनावारी स्वच्छता सम्बन्धि सचेतना फैलाउने उदेश्यसहित ठाकुरबाबा नगरपालिका २ कर्मलाको राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीलाई फोटोग्राफी सिकाउँदै सहभागितात्मक फोटोग्राफि गोष्ठी तथा फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।


वाटर एड नेपालको आर्थिक तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडी एन)को प्राविधिक सहयोगमा बेस बर्दिया परियोजना अन्र्तगत सञ्चालित महिनावारी स्वच्छता सम्बन्धि सचेतना फलाउँदै सामाजिक विकृति विसंगति विरुद्ध फोटोग्राफी गोष्टी तथा फोटो प्रदर्शनी भएको हो ।

राष्ट्रिय माध्यामिक विद्यालय ठाकुरबाबा २ कर्मलाका ४ जना विद्यार्थीहरु अशोक थारु, अम्रिता विक, धिरज विष्ट र रमा पोख्रेलले महिनावारी स्वच्छता सम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको थियो ।
किशोरी र महिलाहरुलाई महिनावारी सम्बन्धी स्वास्थ्य, प्रजनन स्वास्थ्य, महिनावारी हुँदा गर्नुपर्ने व्यक्तिको सरसफाई, अझै पनि छौपठी प्रथाको विध्यमान अवस्था रहेको तथा चौधरी समुदायमा महिनावारी हुदाँ महिनावारी बार्न नपर्ने जस्ता फोटो प्रर्दशन मार्फत चित्रण गरिएको थियो ।
फोटो प्रर्दशनसंगै विद्यार्थीहरु व्यानर मार्फत“ विद्यालयमा होस् या घर, महिनावारीको बेला छैन कुनै डर”, “सुरक्षित महिनावारी हामी सबैको जिम्मेवारी”, महिनावारी सम्बन्धि खुलेर कुरा गरौँ, गलत धारणा र अभ्यासलाई अन्त्य गरौँ” लगायतका नाराहरु पनि प्रर्दशन गरेका थिए ।
मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरि मनाइन्छ । विद्यालयमा महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले महिनावारी समस्यालाई समाधान गर्ने तथा फोटो मार्फत सामाजिक समस्याहरुलाई चित्रण गर्ने उदेश्यले सहभागितात्मक फोटोग्राफि गोष्ठी तथा फोटो प्रदशनी कार्यक्रम संचालन गरिएको बेस बर्दियाका तालिम अधिकृत दुर्गा चौधरीले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर बडुवाल सिँजापतीे प्रमुख आतिथ्ययता तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ वडाअध्यक्ष कमल प्रसाद चपाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वाटर एड नेपालकी अधिकृत मन्जु भट्ट, बेस बर्दियाका तालिम अधिकृत दुर्गा चौधरी, बेस बर्दियाका नगर अध्यक्ष हरिराम थारु रहनुभएको थियो ।
यस्तै कार्यक्रममा ठाकुरबाबा नगरपालिका शिक्षा शाखाकी प्रमुख सिता भण्डारी, शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारी, ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शम्भु प्रसाद थारु, विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थिती रहेको बेस बर्दियाकी फिल्ड सुपरभाईजर शान्ति चौधरीले जानकारी दिनुभयो ।




