बर्दिया,कात्तिक २६(माउण्टेनसमाचार) / बर्दिया राष्ट्रिय निकुञ्जले बन्दुक,जंगली जनावरको सुकुटीसहित चार जना शिकारीलाई पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत देवीदत्त गण तथा निकुञ्ज कार्यालयबाट खटिएको सर्च अपरेशन टोलीले शिकारीहरुलाई शनिबार पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा सर्च अप्रेशन टोली परिचालन भएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको सर्च अप्रेशन टोलीले सुर्खेत बराहताल गाउँपालिका–१ तेलपानी स्थितबाट जना शिकारीलाई दुई थान बन्दुक, ४० किलोग्राम भन्दा बढी जरायो जस्तो देखिने जंगली जनावरको सुकुटी र दुई जरायोको सिङ्गलगायत अन्य अखेटोपहारसहित निजहरुको घरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउपालिका–१ तेलपानी बस्ने ६६ वर्षिय गमन वली बन्दुकसहित, ४३ वर्षिय श्याम बहादुर वली, ३८ वर्षिय चन्द्र बहादुर वली बन्दुकसहित र ३८ वर्षिय दिलबहादुर वली रहेका छन् । चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाईएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रि बिनोद दाहालले जानकारी दिए ।




