आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबारदेखि छैटौँ चरणको खेल सुरु हुँदै छ । छैटौँ चरणको पहिलो खेलमा शुक्रबार ‘गर वा मर’ को अवस्थामा रहेको पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
उक्त खेल चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा खेलिने छ । सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवित राख्न पाकिस्तानका लागि यो खेल निकै महत्त्वपूर्ण छ । जारी विश्वकपमा पाकिस्तानले यसअघि खेलेको पाँचमध्ये तीन खेलमा नमिठो पराजय भोगेको छ ।
दुई खेलमा मात्र सफलता हात पारेको पाकिस्तानी टोली चार अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । दक्षिण अफ्रिकासँग पनि पराजित भएमा पाकिस्तानको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना प्राविधिक रूपमा मात्र बाँकी रहने छ ।
पाकिस्तानले आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानले बलियो श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । त्यसपछि पाकिस्तानी टोली लगातार तीन खेलमा पराजित हुन पुग्यो ।
पाकिस्तानी टोली आफ्नो तेस्रो खेलमा चिर प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भएको थियो । त्यसपछि चौथो खेलमा पाकिस्तानी टोलीलाई पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाले ६२ रनले हराएको थियो ।
पाँचौँ खेलमा भने पाकिस्तानी टोली अप्रत्याशित रूपमा अफगानिस्तानसँग आठ विकेटले हारेको थियो । जारी विश्वकपमा पाकिस्तानी टोलीको ब्याटिङ र बलिङ दुवै प्रभावकारी देखिएको छैन । तीव्र गतिका बलरहरु पाकिस्तानी टोलीका प्रमुख हतियार हुन् ।
तर, यो विश्वकपमा तीव्र गतिका बलरहरूले पनि खासै कमाल देखाउन सकेका छैनन् । यसका अतिरिक्त एकदिवसीय विश्व वरीयताको पहिलो स्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजमको ब्याटिङ पनि खासै चल्न सकेको छैन ।
यसको विपरित जारी विश्वकपमा दक्षिण अफ्रिकी टोली लयमा देखिएको छ । दक्षिण अफ्रिकाले हालसम्म एक खेलमा मात्र अप्रत्याशित हार भोगेको छ । दक्षिण अफ्रिकालाई तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सले ३८ रनले हराएको थियो ।
अन्य चार खेलमा भने दक्षिण अफ्रिका ठूलोअन्तरले विजयी भएको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय दुई रनले, बलियो अस्ट्रेलियालाई एक सय ३४ रनले, साविक विजेता इङ्ल्यान्डलाई दुई सय २९ रनले र बंगलादेशलाई एक सय ४९ रनले हराएको छ ।
दक्षिण अफ्रिकाले सबै खेल एक सयभन्दा बढीको रनअन्तरले जितेको छ । यसबाट पनि दक्षिण अफ्रिकी टोलीका ब्याट्सम्यानहरु लयमा छन् भन्ने सङ्केत दिन्छ । दक्षिण अफ्रिका आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।
दक्षिण अफ्रिकाको नेट रन रेट पनि अन्य टोलीको तुलनामा सबैभन्दा बढी छ । त्यसैले शुक्रबारको खेलमा पाकिस्तानलाई हराउन सके नेट रन रेटमा भारतलाई पछि पार्दै दक्षिण अफ्रिका अङ्क तालिकाको पहिलो स्थानमा उक्लने सम्भावना छ ।
तथ्याङ्कमा पनि दक्षिण अफ्रिका नै अगाडि
यसअघि खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्याङ्कलाई हेर्दा भने पाकिस्तानभन्दा दक्षिण अफ्रिका निकै अगाडि देखिन्छ । हालसम्म दक्षिण अफ्रिका र पाकिस्तानबिच ८२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।
त्यसमध्ये ५१ खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराएको छ । ३० खेलमा भने पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजयको स्वाद चखाएको छ । यी दुई राष्ट्रबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।
दक्षिण अफ्रिकाले घरेलु मैदानमा खेलिएको २२ खेलमा पाकिस्तानलाई हराएको छ । पाकिस्तानले भने आफ्नो घरेलु मैदानमा खेलिएको सात खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिकाले पाकिस्तानलाई उसैको मैदानमा आठ पटक हराएको छ ।
पाकिस्तानले भने दक्षिण अफ्रिकालाई उसैको मैदानमा १४ पटक पराजयको स्वाद चखाएको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा दक्षिण अफ्रिकाले २१ र पाकिस्तानले नौ खेल जितेका छन् । यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०२१ को अप्रिल ७ मा एकदिवसीय खेल खेलिएको थियो ।
त्यो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २८ रनले हराएको थियो । सोही क्रममा खेलिएको तीन एकदिवसीय खेलको शृंखला पनि पाकिस्तानले २—१ ले जितेको थियो । एकदिवसीय विश्वकपमा भने हालसम्म यी दुई राष्ट्रबिच पाँच खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा दक्षिण अफ्रिका र दुई खेलमा पाकिस्तान विजयी भएका छन् ।
सबैलाई समान व्यवहार गर्ने पिच
दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल शुक्रबार चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ । भारतमा रहेका अन्य क्रिकेट स्टेडियमको तुलनामा एम। ए। चिदम्बरम स्टेडियमको पिचले केही फरक विशेषता बोकेको पाइन्छ ।
यहाँको पिच सन्तुलित प्रकारको छ । यहाँको पिचले कुन अवस्थामा कसलाई सहयोग पुर्याउँछ भन्ने कुराको ठोकुवा गर्न सकिँदैन । यो स्टेडियममा खेलिएको पछिल्लो २० वटा एकदिवसीय खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय २१ रन बनाएको देखिन्छ ।
यहाँको पिचमा पहिलो ब्याटिङ गर्ने टोलीले ५० प्रतिशत र दोस्रो ब्याटिङ गर्ने टोलीले ५० प्रतिशत खेल जितेका छन् । त्यसैले यो स्टेडियमको पिचमा टस जित्ने कप्तानले तत्कालीन समयमा पिचको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिनु पर्ने हुन्छ ।
त्यसैले यो स्टेडियमको पिचमा टस जित्नु वा हार्नुले खासै फरक नपर्ने बताइन्छ । यो स्टेडियमको पिचले तीव्र गति र स्पिन बलर दुबैलाई समान व्यवहार देखाउँछ । जारी विश्वकपमा यसअघि यो स्टेडियममा खेलिएको खेलमा पनि अफगानिस्तानका स्पिनर राशिद खानको जादु चल्न सकेन ।
तर, अफगानिस्तानका लागि नुर अहमदले तीन विकेट लिएका थिए । सोही खेलमा तीव्र गतिका बलर नविन उल हकले पनि दुई विकेट हात पारेका थिए । त्यो खेलमा अफगानिस्तानले पाकिस्तानलाई आठ विकेटले हराएको थियो ।
त्यसैले शुक्रबार खेलिने खेलमा यो पिचमा पाकिस्तानी बलर साहिन शाह अफरिदीको जादु चल्न वा दक्षिण अफ्रिकी बलर कागिसो राबडाले कमाल देखाउँछन् अहिले नै ठोकुवा गर्न सकिँदैन । यसैगरी ब्याटिङतर्फ पनि पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवान चम्कन्छन् वा दक्षिण अफ्रिकाका क्विन्टन डी कक र हेनरिच क्लासेनले उत्कृष्ट प्रदर्शन गर्छन् अहिले नै भन्न सकिन्न । शुक्रबारको खेल वर्षाका कारण प्रभावित हुने सम्भावना निकै कम देखिएको छ । साभार रातोपाटी





